इटहरी । नमुना कलेज इटहरीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। बिराट टिचिङ अस्पतालको सहकार्यमा इटहरीस्थित ग्रीन पिस लिंकन कलेजको मैदानमा आयोजित कार्यक्रममा कलेजका विद्यार्थी, शिक्षक तथा अन्य व्यक्तिहरूले रक्तदान गरेका थिए। कार्यक्रमबाट ७७ पिन्ट रगत संकलन गरिएको छ। समाजकार्य संकायका विद्यार्थीहरूले स्वयंसेवा प्रदान गर्दै कार्यक्रमलाई प्रभावकारी बनाएका थिए। रक्तदानमा सहभागीहरूलाई बिराट टिचिङ अस्पतालले एक वर्षसम्म रक्तदाताहरू र तिनका परिवारका सदस्यहरूलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने घोषणा गरेको छ।  रक्तदान कार्यक्रमले युवाहरूलाई समाजसेवामा प्रेरित गर्दै रक्तदानको महत्त्व उजागर गरेको आयोजकहरूले बताएका छन्। इटहरी नमुना कलेजका प्राध्यापकहरूका अनुसार यस्ता कार्यक्रमहरूले सामाजिक उत्तरदायित्व बहन गर्न मद्दत पुर्याउनुका साथै मानव जीवन बचाउने कार्यमा सकारात्मक योगदान पुग्ने विश्वास गरिएको छ। सहभागीहरूले रक्तदानलाई पवित्र कार्य मान्दै उत्साहपूर्वक सहभागिता जनाएका थिए।