इटहरी | रंगहरूको पर्व होली केवल रमाइलोको लागि मात्र सीमित नभई सामाजिक सद्भाव, माया र सहयोगको प्रतीक पनि हो। यही भावनालाई आत्मसात गर्दै किवानिस क्लब अफ तरहराले इटहरीस्थित निःसहाय बाल आश्रमका बालबालिकाहरूसँग होली मनाएको छ।

बालबालिकासँग होली खेल्दै क्लबका सदस्यहरूले उनीहरूलाई विभिन्न आवश्यक सामग्री सहयोग गरेका छन्। खाद्यान्नका साथै ल्याक्टोजिन, डायपर, तथा अन्य अत्यावश्यक सामग्रीहरू आश्रमलाई प्रदान गरिएको थियो। यसका साथै, क्लबका सल्लाहकार दुर्गा गिरीले व्यक्तिगत रूपमा रु. १०,००० नगद सहयोग समेत आश्रमलाई हस्तान्तरण गरेका छन्। क्लबका कार्यक्रम संयोजक मदन बस्नेतले यो सहयोग आश्रमका बालबालिकाहरूको दैनिक आवश्यकताहरू पुरा गर्न निकै सहयोगी हुने बताए।

यस कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेसका युवा नेता सिजन गुरुङ रहेका थिए भने, अर्जुन बस्नेत र दुर्गा गिरी विशिष्ट अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रम क्लबका अध्यक्ष गोविन्द घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो।

कार्यक्रमको क्रममा क्लबका अध्यक्ष गोविन्द घिमिरेले किवानिस क्लब अफ तरहराले विगतदेखि नै विभिन्न सामाजिक सेवाका कार्यहरू गर्दै आएको जानकारी गराए। उनले भने, "हामीले यसअघि पनि शिक्षा, स्वास्थ्य, तथा बालबालिकाका क्षेत्रमा विभिन्न कार्यक्रमहरू सञ्चालन गरेका छौँ। आगामी दिनमा पनि क्लबले समाजका कमजोर तथा असहाय वर्गका लागि निरन्तर रुपमा सेवा पुर्‍याउनेछ।"1742004680981

किवानिस क्लब अफ तरहराले यसअघि पनि विभिन्न समाजसेवी कार्यहरू गर्दै आएको छ। अनाथ बालबालिकाका लागि खाद्य सामग्री वितरण, शैक्षिक सहयोग, स्वास्थ्य शिविर, रक्तदान जस्ता कार्यक्रमहरू क्लबले समयसमयमा आयोजना गर्दै आएको छ।

यसपटकको होली विशेष कार्यक्रमले निःसहाय बालबालिकाहरूलाई मात्र खुशी दिएको छैन, समाजमा सेवा र सहयोगको भावना अझै बलियो बनाउने प्रेरणा पनि दिएको छ। कार्यक्रममा बालबालिकाहरूले रंगहरूको मज्जा लिंदै खुसी साटासाट गरेका थिए। क्लबका सदस्यहरू, उपस्थित अतिथिहरू तथा बालबालिकाहरूले आपसमा रंग खेल्दै एकअर्कासँग खुसी बाँडे।

1742004668265