इटहरी । पहाडी तथा हिमाली जिल्लामा बिहीबार फागु पूर्णिमा अर्थात होली मनाइएको छ । प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाको दिन होली मनाइन्छ । होलीको दिनमा विशेष रुपमा बालबालिका देखि वृद्धवृद्धाले उत्सवका रुपमा एक आपसमा रङ, अबिर लगाएर, नाच गान गरेर र मिठो परिकार बनाइ खाने र खुवाउने गरेर हर्षोल्लहासका साथ मनाइने गरिन्छ । रङको पर्व भनिने होली धनकुटामा पनि एक आपसमा रङ लगाएर मनाइएको छ । होली पर्वको अवसरमा बालबालिका देखि यूवा पुस्ताले एक अर्का माथि विभिन्न प्रकारका रङहरु लगाइ शुभकामना साटासाट गरी होली मनाएका हुन् । धनकुटाका विभिन्न चोकमा होली विशेष कार्यक्रमहरु आयोजना भएका थिए । धनकुटाको एभोकार्डो पार्कमा सिटी जेसिसको आयोजना, मदन चोकमा हाम्रो बहुमुखी पाठशालाको आयोजना र भीमसेन थानमा बौदिक विकास समाजको आयोजनामा होली मिलन कार्यक्रमको आयोजना भएको छ । ती कार्यक्रममा सयौँ मानिस होली मनाउन आएका थिए ।


