इटहरी । सुनसरीको वराहक्षेत्र नगरपालिकामा बजेट र राणनीतिक योजना तर्जुमा प्रयोगात्मक तालिम सुरु गरिएको छ । नगर क्षेत्रमा रहेका सहकारी संस्थाहरुका लागि बजेट र राणनीतिक योजना तर्जुमा गर्न सहज बनाउने उद्देश्यले तीन दिने प्रयोगात्मक तालिम सुरु गरिएको हो । वराहक्षेत्र नगरपालिका क्षेत्रभित्र रहेका २२ वटा सहकारी संस्थाहरुलाई संस्थाको बजेट र राणनीतिक योजना तर्जुमा गर्न सञ्चालकहरुलाई प्रयोगात्मक तालिमको आयोजना गरिएको नगर आर्थिक विकास शाखा प्रमुख मातृकाप्रसाद तिवारीले बताउनुभयो । आर्थिक शाखामार्फत सहकारीका सञ्चालकहरुलाई व्यवसायिक योजना बनाउन प्रयोगात्मक रुपमै सहजीकरणर गरिएको शाखा प्रमुख तिवारीले बताउनुभयो । उहाँका अनुसार तीन वर्षे वा पञ्चवर्षे व्यवसायिक योजना बनाएर सहकारीहरुले योजना अनुसार काम गर्न सके सदस्यहरुको आर्थिक, सामाजिक, सांस्कृतिक रुपान्तरणमा सहयोग पुर्याउने उद्देश्यले योजना तर्जुमा गर्न तालिम सञ्चालन गरिएको हो । व्यवसायिक योजना सहकारीहरुले नबनाई काम गर्दा संस्थाहरु आर्थिक रुपमा धरासायी बन्दै गएको अवस्थामा योजना तर्जुमा गरेर काम गर्दा सहज हुने बताइएको छ । सहकारीहरुले आर्थिक विकासको चक्रअनुसार काम गर्न नसक्दा संस्थाको पूँजी, संस्थाको पेशा व्यवसाय, लगानी, सदस्यको उत्पादन, बजारीकरण र आम्दानी कम हुने गरेको छ । प्रत्येक सहकारी संस्थाले आफ्ना सदस्यहरुको आर्थिक, सामाजिक र सांस्कृतिक हैसियतमाथि उठाउन सदस्यहरुको विवरण राखेर काम गर्दा सदस्यहरु कति सक्षम भए भन्ने थाहा हुने उहाँले बताउनुभयो । वराहक्षेत्र नगरमा २७ वटा कृषि सहकारी, चार वटा दुग्ध सहकारी, ६ वटा बहुउद्देश्य सहकारी, सानाकिसान सहकारी तीन वटा र अन्य चार वटा गरी ७२ वटा सहकारी संस्थामा ३८ हजारभन्दा बढी सदस्य आबद्ध रहेका छन् । केही सहकारीबाहेक सबै सहकारी सबल रहेको नगर आर्थिक विकास शाखाले जनाएको छ । सहकारीमा आबद्ध भएर नगर क्षेत्रमा तीन हजारभन्दा बढी कृषकहरु दुध उत्पादनसँग प्रत्यक्ष जोडिएर किसानहरुले पशुपालन गर्दै आएका छन् । सुनसरी जिल्लाकै पुराना सहकारीकर्मी हुमरजंग बस्नेतले सकहारी संस्थाको उद्देश्य संस्थामा आबद्ध सदस्यहरुको आर्थिक उत्थान गरी सामाजिक न्याय र समानता दिलाउनु नै सहकारीको प्रमुख उद्देश्य हुनु पर्ने उहाँ बताउनुहुन्छ । नगर क्षेत्रमा रहेका सबै सहकारीका सदस्यहरुमा सहकारी शिक्षा नहुँदा सहकारीमा आबद्ध सदस्यहरुलाई आफ्नो हकअधिकार समेत थाहा नहुने गरेको देखिन्छ । सबै सहकारी संस्थाले आफ्ना सदस्यहरुलाई सहकारी के हो भनेरै नबुझाउदा सञ्चालकहरुको मात्रै सहकारी हो भन्ने बुझाई बढेर गएको वराहक्षेत्र नगर आर्थिक विकास शाखा प्रमुख मातृका तिवारी बताउनु हुन्छ ।


