इटहरी । लायन्स क्लब इन्टरनेशनल, इटहरी उपमहानगरपालिका, र माया घर नेपालको सहकार्यमा निर्माण हुन लागेको माया घर लायन्स भवनको शिलान्यास गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले भवनकोे शिलान्यास गर्नु भएको हो । सामाजिक सेवा प्रवद्र्धन गर्ने उद्देश्यले निर्माण हुन लागेको यो भवन साढे ३ तलाको हुनेछ र ९ महिनाभित्र सम्पन्न गरिनेछ । १ करोड ७२ लाख ५४ हजारको लागतमा निर्माण हुने यो भवनका लागि प्रदेश सरकारले ५० लाख सहयोग गरेको छ भने बाँकी रकम लायन्स क्लब र अन्य साझेदार संस्थाहरुको आर्थिक सहभागिताबाट जुटाइनेछ । भवन निर्माणको जिम्मा जय कुलायन निर्माण सेवा, इटहरी–१७ ले लिएको छ । माया घर नेपाल इटहरीकि अध्यक्ष सुभद्रा प्याकुरेलले भवनबाट माया घरका असायह नागरिकलाई सेवा पुग्ने लायन्स क्लबको सहयोगलाई धन्यवाद व्यक्त गर्नु भयो । लायन्स डि ३२५ सीका सभापति बिजय हरि शर्माले माया घरले समाजसेवामा पुर्याउँदै आएको योगदानको चर्चा गर्दै भवन निर्माणपछि सेवाहरु अझ प्रभावकारी बन्ने विश्वास व्यक्त गर्नु भयो । कार्यक्रममा मुख्यमन्त्री कार्कीले माया घर नेपाललाई कोशी प्रदेश सरकाले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । सोही अवसरमा मन्दिर माकाजु (श्रेष्ठ) परिवारको पहलमा निर्माण हुन लागेको अष्टचिरञ्जीवी मन्दिरको भवन शिलान्यास मुख्यमन्त्री कार्कीले गर्नुभयो । उक्त मन्दिरको निर्माण कार्यको अनुमानित लागत १० लाख रुपैयाँ रहेको छ । सो भवन शिलान्यासमा कोशी प्रदेश सभा सदस्य मिना श्रेष्ठ, लायन्स डिष्ट्रिक्ट ३२५ सीका डिष्ट्रिक्ट गभर्नर बिकाश अधिकारी,लायन्स डिष्ट्रिक्ट ३२५ सीका डिष्ट्रिक्ट गभर्नर इन्द्र खत्री ,लायन्स क्लबका पदाधिकारीहरू ,माया घर नेपालका पदाधिकारीहरू लगाएको सहभागीतामा भवनको शिलान्यास गरिएको थियोे । लायन्स अफ इटहरी सुनसरी ,लायन्स अफ इटहरी सिटि,लायन्स अफ इटहरी मनकामनाको पहलमा भवन शिलान्यास गरिएको हो ।


