इटहरी । खोटाङका दिवंगत विद्यार्थीको स्मृतिमा परिवारले विद्यालयमा अक्षयकोष स्थापना गरेको छ। हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारस्थित पिपलडाँडा माध्यमिक विद्यालयका दिवंगत विद्यार्थी टङ्कल राईको सम्झनामा १ लाख ११ हजार १ सय ११ को अक्षयकोष स्थापना गरिएको हो। मङ्गलबार विद्यालयमा आयोजित विशेष कार्यक्रममा राई परिवारले उक्त रकम विद्यालयका प्रधानाध्यापक भेखनाथ चौधरीलाई हस्तान्तरण गरे। कोष संरक्षक लोकबहादुर राईका अनुसार कोषको ब्याजबाट प्राप्त रकम विद्यालयका गरिब, विपन्न तथा उत्कृष्ट छात्रछात्रालाई हरेक वर्ष पुरस्कारस्वरूप प्रदान गरिनेछ । ११ कक्षामा अध्ययनरत टङ्कलको सम्झना ‘सदैव कायम रहोस्’ भन्ने उद्देश्यले अक्षयकोष स्थापना गरिएको संरक्षक राईले बताए। साथै, यस कोषले गरिब, विपन्न तथा मेधावी विद्यार्थीहरूको पठनपाठन र शैक्षिक विकासमा टेवा पुर्याउने अपेक्षा गरिएको छ। टङ्कलको २०८० फागुन २० गते मोटरसाइकल दुर्घटनामा परी निधन भएको थियो। मङ्गलटारस्थित देवीटारका २५ वर्षीय टङ्कल पिपलडाँडा माविमा कक्षा ११ मा अध्ययनरत थिए। उनी सवार स ९ प १२१२ नम्बरको मोटरसाइकल र सदरमुकाम दिक्तेलबाट हलेसीतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख २४०२ नम्बरको टिपर हलेसी तुवाचुङ–१० अर्खौले कामीडाँडामा ठोक्किएर दुर्घटना हुँदा उनको मृत्यु भएको थियो।


