इटहरी । पूर्वमन्त्री तथा प्रतिनिधीसभा सदस्य राजेन्द्रकुमार राईले धनकुटामा खानेपानीका लागि २ अर्व ५० करोड र सडकका लागि करिब १ अर्व बजेट आएको बताउनु भएको छ । धनकुटामा जिल्ला स्तरीय अर्धवार्षिक समीक्षा तथा अन्तरक्रियात्मक छलफल कार्यक्रमको बुधबार उद्धाटन गर्दै पूर्वमन्त्री राईले जिल्लाका हरेक कार्यक्रम गर्दा जनताका गरिबी कम हुने, आम्दानी बढ्ने तथा सुशासनको कायम हुनुपर्ने बताउनु भएको छ । पूर्वमन्त्री राईले मुलुकको विकासको लागि दुई ठूला पार्टी मिलेर सरकार बनाउनु परेको बताउनु भएको छ । उहाँले सानासाना पार्टी मिलेर बनेको सरकारले देशको अर्थतन्त्र र सुशासनलाई हल गर्न नसकेकाले ठूला पार्टी मिलेर सरकार बनाउनु परेको बताउनु भएको हो । अर्धवार्षिक समिक्षामा धनकुटामा रहेका ७ वटै स्थानीय तह, प्रदेश र संघ सरकार मातहतका विषयगत कार्यालय र विभिन्न गैरसरकारी कार्यालयले आर्थिक वर्ष २०८१÷०८२ मा सञ्चालित बजेट योजना कार्यक्रमको अर्धवार्षिक प्रगति समेटिएको प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, नागरिक समाज, पत्रकारको सहभागिता रहेको थियो । कार्यक्रममा प्रस्तुत प्रतिवेदननमा कार्यालयहरुले गरेका काम, काम गर्दा देखा परेका समस्याका बारेमा प्रस्तुती भएको र त्यसलाई सहज बनाउने विषयमा छलफल भएको जिल्ला समन्वय समिति प्रमुख निरेन तामाङले जानकारी दिनुभयो ।


