इटहरी । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले खेलाडीबाट राजनैतिक दलका नेता कार्यकर्ताले अनुशासन सिक्नु आवश्यक रहेको बताउनुभएका छन् । विराट गोल्डकपको उद्घाटन समारोहलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दैै नेता कोइरालाले राजनीतिमा अनुशासनहीनता बढ्दै गएको भन्दै चिन्तासमेत व्यक्त गरे । उनले दलका नेता तथा कार्यकर्ताले खेलाडीबाट अनुशासन सिक्नुपर्नेमा जोड दिए । नेता कोइरालाले राज्यले खेलकुद क्षेत्रमा गर्दै आएको लगानी बढाउनुपर्नेमा जोड दिए । खेलकुदमा लगानी बढाएर विद्यालयस्तरदेखि नै विभिन्न खेलकुद गर्ने हो भने स्वास्थ्य क्षेत्रमा हुनै आएको खर्च घट्ने उनको दाबी थियो । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले स्वास्थ्यका लागि मात्रै होइन आपसी सम्बन्ध र भाइचाराका लागि पनि खेलकुद अति आवश्यक रहेको औंल्याए । खेलकुदले देशको नामलाई अन्तर्राष्ट्रियस्तरसम्म पु¥याउन मद्दत गर्ने उनको भनाइ थियो । मेयर कोइरालाले धर्म र राजनीतिले विभाजित मन र मस्तिष्कलाई खेलकुदले जोड्ने बताए । राष्ट्रको नाम र प्रतिष्ठाका लागि खेल्ने खेलाडीहरुले राज्यबाट भने जति सम्मान पाउन नसकेको उनको गुनासो थियो । खेलकुदलाई पर्यटनसित जोडेर आर्थिक उपार्जनमा लाग्नुपर्नेमा समेत उनले जोड दिए । कार्यक्रममा विराट गोल्डकप ट्रष्टका अध्यक्ष किशोरबहादुर शाही, आयोजक समितिका संयोजक नविन रिजाल, प्रदेश खेलकुद विकास बोर्डकी उपाध्यक्ष विन्द्या कार्कीलगायतले खेलकुदका माध्यमबाट देशको नाम अन्तर्राष्ट्रियस्तरमा चिनाउन मद्दत पुग्ने धारणा राखे । रमपम चाउचाउले मुख्य प्रायोजन गरेको प्रतियोगितामा नेपाल र भारतका १० वटा टिमले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता यही फागुन २८ गते सम्पन्न हुनेछ ।


