इटहरी । मिक्लाजुङ गाउँपालिकाले गाउँपालिका क्षेत्रका दुई सामुदायिक विद्यालयलाई स्कुल बस हस्तान्तरण गरेको छ ।  मंगलबार आयोजित कार्यक्रममा ३६ सिट क्षमताका दुई थान बस हस्तान्तरण गरिएको हो। स्कुल बस प्राप्त गर्ने विद्यालयहरूमा वडा नं. ३ स्थित कालिका सामुदायिक विद्यालय र वडा नं. ७ स्थित भगवती माध्यमिक विद्यालय रहेका छन् । गाउँपालिका अध्यक्ष बविकुमार राईका अनुसार दुर्गम क्षेत्रका विद्यार्थीहरू विद्यालय पुग्न लामो दूरी पार गर्नुपर्ने भएकाले सहज आवागमनका लागि बस प्रदान गरिएको हो । विद्यालयहरूको अनुरोधलाई प्राथमिकता दिँदै बस हस्तान्तरण गरिएको उहाँले बताउनुभयो । कालिका सामुदायिक विद्यालयका प्रधानाध्यापक मातृका प्रसाद न्यौपानेले विद्यालयको आवश्यकता पूरा गर्ने उद्देश्यले बस प्रदान गरेकोमा गाउँपालिकालाई धन्यवाद व्यक्त गनुभयो । हाल उक्त विद्यालयमा १ हजार ५६ विद्यार्थी अध्ययनरत छन्, भने भगवती माध्यमिक विद्यालयमा १ हजार २५ विद्यार्थी छन्। मिक्लाजुङ गाउँपालिकाले गत आर्थिक वर्ष र चालु आर्थिक वर्ष गरी दुई विद्यालयलाई बस उपलब्ध गराएको हो । स्कुल बस हस्तान्तरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मातृका प्रसाद न्यौपाने र प्रेमप्रकाश कोइराला, शिक्षा शाखा प्रमुख काशिनाथ खनाल, प्रमुख प्रशासनिक अधिकृत तुलाराज थापा मगर, गाउँपालिका उपाध्यक्ष दिनेश पौडेल तथा अध्यक्ष बविकुमार राईको उपस्थिति रहेको थियो ।