इटहरी । फालेलुङ गाउँ पालिकामा निर्मित पाँच शय्याको आधारभूत अस्पताल भवन उद्घाटन गरिएको छ । फालेलुङ ३ को नाम्लुवामा सङ्घीय र स्थानीय सरकारको लागत साझेदारीमा १२ करोड रुपियाँ खर्च गरेर निर्माण गरिएको अस्पताल भवनको उद्घाटन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले गर्नुभयो । अस्पताल भवन उद्घाटन गर्दै मन्त्री पौडेलले करोडौं खर्च गरेर निर्माण भएको भवनबाट नागरिकलाई भरपुर दिने वातावरण बनाउन लागि पर्ने बताउनुभयो । मन्त्री पौडेलले स्वास्थ, शिक्षा र सडकको आधारभुत सुविधा नहुँदा गाउँहरू उजाड बन्दै गएको भन्दै अब त्यो अवस्थाको अन्त्य गर्न स्थानीय सरकारले बनाउने नीती कार्यक्रममा आय मुलक कार्यक्रमलाई जोड दिन सुझाउनुभयो । टोल र वडा तह सम्मका स्वास्थ्य संस्थाहरूमा दरबन्दी र उपकरण पुर्याउन तीन तहकै सरकारको लागत साझेदारी अनिर्वाय रहेको उहाँको भनाइ थियो । फालेलुङ ३ नाम्लुवामा २०७८ साल देखि निर्माण सुरु भएको पाँच शय्या अस्पताल हालै सम्पन्न भएको हो । भवन निर्माणमा सङ्घीय र स्थानीय सरकारको लागत साझेदारीमा १२ करोड २ लाख ३ हजार १ सय १४ रुपियाँ खर्च भएको छ ।


