इटहरी । मोरङको पथरी शनिश्चरे वडा नं ०७ मा रहेको मायादेवी पार्कको प्रवेशद्वार भव्यताका साथ अनावरण भएको छ । शुक्रबार कोशी प्रदेशका सांसद मान बहादुर लिम्बुले बौद्ध परम्परा अनुसार १०८ दीप बालेर र शिलालेख अनावरण गर्नुभएको हो ।  मायादेवी पार्क संचालक समितिद्वारा आयोजित दोस्रो सञ्चालक समितिको वार्षिक साधारण सभा तथा ’ कृष्णकुमारी राईको जीवन यात्रा ’ पुस्तक लोकार्पण पनि भएको थियो । प्रमुख अतिथि समेत रहनुभएका सांसद लिम्बुले पूर्वी नेपालको एक लोकप्रिय धार्मिक तथा पर्यटकीय स्थलको रूपमा विकास गर्न स्थानीय, प्रदेश र संघीय तहका निकायहरूका जिम्मेवार सरोकारवाला जनप्रतिनिधिहरूले राजनीतिक चश्माले नहेरी सबै मिलेर लाग्नुपर्ने औल्याउनु भयो ।   उक्त अवसरमा  बौद्ध धर्मका प्रवर्तक गौतम बुद्धकी ममतामयी माता मायादेवीको नामबाट स्थापित यो धार्मिक तथा पर्यटकीय स्थललाई थप पूर्वाधार विकास गर्न सक्दो सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो । पार्क सञ्चालक समितिकी अध्यक्ष कृष्णकुमारी बिकको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा  कोशी प्रदेशकी सांसद तथा नेकपा माओवादीकी प्रमुख सचेतक गीता तिम्सिना, प्रदेश सांसद् विद्या राई,  संविधानसभाका सभासद द्वय चण्डीप्रसाद राई र लालबहादुर सुश्लिङ मगर , पथरिशनिश्चरे वडा नं ०८ का वडा अध्यक्ष तथा नगरप्रवक्ता नवीनजंग कार्की, लगायतले आआफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो । सोही अवसरमा वडा नं ०७ का वडा अध्यक्ष उद्धवराज बस्नेत , पार्कलाई  नौ कठ्ठा जमिन निशुल्क जग्गादान गर्नु हुने पाँच परिवारहरु, सर्वसाधारणको  पनि उपस्थिति  थियो । उक्त पार्क निर्माणको लागि ३ वर्षअघि स्वर्गीय  मनमाया तामाङको स्मृतिमा पाँच कठ्ठा, स्वर्गीय गंगाबहादुर तामाङको स्मृतिमा दुई कठ्ठा, स्वर्गीय  दिलप्रसाद लिम्बुको स्मृतिमा १ कठ्ठा, छविलाल मादेन १० धुर र विष्णुमाया राई १० धुर गरी कुल ९ कठ्ठा जग्गा निःशुल्क दान गर्नु हुने परिवारका सदस्यहरूलाई कदरपत्र द्वारा सम्मानित गरिएको थियो ।