इटहरी । सहिद भीमनारायण श्रेष्ठको सपना पुरा गर्न सबैले ध्यान दिनुपर्ने परिवारजनले बताएका छन् । छैटौ धनकुटेली समागमले सहिद भीमनारायण श्रेष्ठ पत्नी लक्ष्मीदेवि श्रेष्ठलाई अभिनन्दन गरेको कार्यक्रममा परिवारले सहिद भीमनारायण मात्रै होइन सबै सहिदको सपना पुरा हुनुपर्ने बताएका हुन् । भीमनारायणका पुत्रहरु मनोज नारायण श्रेष्ठ र मनोहर नारायण श्रेष्ठले सहिद भीमनारायण श्रेष्ठ स्मृति प्रतिष्ठान गठन गरेर केही काम हुँदा भीमनारायण श्रेष्ठ प्रति सम्मान भएको अनुभुति भएको बताउनु भयो । लोकतान्त्रिक गणतन्त्रको स्थापना र मानव अधिकारको संरक्षणका लागि आफ्नो जीवन समर्पण गर्ने सहिद भीमनारायण श्रेष्ठकी धर्मपत्नी लक्ष्मीदेवी श्रेष्ठलाई दोसल्ला ओढाएर तथा अभिनन्दन पत्रले अभिनन्दन गरिएको हो । धनकुटा नगरपालिका वडा नं. ६ सिरान बजार निवासी श्रेष्ठले आफ्नो श्रीमानको बलिदानपछि परिवार र वैयक्तिक सुख सुविधा भन्दा मुलुकको सुनौलो भविष्यका लागि त्याग गरेको भन्दै अभिनन्दन गरिएको छैटौ धनकुटेली समागमकी संयोजक प्रा. डा. सावित्री कक्षपतिले बताउनु भयो । उहाँले चार सन्तानको पालन पोषण सँगै मौलिक हक र अधिकारको संवैधानिक सुनिश्चितताका लागि निरन्तर संघर्ष गरेको कक्षपतिको भनाइ छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा नगर प्रमुख चिन्तन तामाङले श्रेष्ठको जीवन नेपाली महिलाहरुका लागि प्रेरणादायी रहेको बताउँदै हामीले भीमनारायणको अतुलनीय योगदानलाई भुल्न नहुने बताउनु भयो । १९९४ साल असार २४ गते धनकुटामा जन्मिएका भीमनारायण श्रेष्ठलाई २०३० चैत्र ३ गते तत्काल राजा वीरेन्द्रलाई विराटनगर सवारी हुँदा बम हानेको आरोपमा तत्कालीन सरकारले पक्राउ गरेको थियो । पक्राउ पश्चात सरकारले कठिन जेल याताना दिएर २०३५ साल माघ २६ गते गोली हानी हत्या गरेको थियो ।