इटहरी । पथरी शनिश्चरे नगरपालिका वडा नं. ८ ले ‘वडा अध्यक्ष मेरो साथी’ कार्यक्रम अन्तर्गत विपन्न परिवारका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । शुक्रबार वडा कार्यालयमा भएको सो कार्यक्रममा विद्यार्थीहरुलाई विद्यालय पोशाक, ब्याग, डटपेन, पेन्सिल र कापी वितरण गरिएको हो । वडा भित्रको बुद्ध मावि सोमबारेका २० जना, दुर्गा आधारभुत विद्यालय शुक्रबारेका १४ जना र मिलन आधारभुत विद्यालय मिलन चौकका १० जना विद्यार्थीहरु गरी कूल ४४ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको थियो ।  वडाअध्यक्ष नवीन कार्कीको अध्यक्षतमा भएको सो कार्यक्रममा वडा सदस्यहरु बाबुराम चौधरी, शिवमाया विश्वकर्मा र विद्यालयका ब्यवस्थापन समिती, शिक्षक शिक्षिकहरुको उपस्थिति रहेको थियो ।  कार्यक्रममा बुद्ध माध्यमिक विद्यालयका अध्यक्ष प्रकाशबहादुर कार्की र दुर्गा  आधारभूत विद्यालयका  प्रधानाध्यापक टिकाराम काफ्लेले मन्तब्य राख्नुभएको थियो । वडाले गतबर्ष पनि छात्र छात्राहरूलाई शैक्षिक सामग्री वितरण गरेको थियो ।  वडाले ‘वडा अध्यक्ष मेरो साथी’ कार्यक्रम अन्तर्गत जसको केही÷कोहि छैन उसको लागि वडा अध्यक्ष मेरो साथी कार्यक्रम छ “भन्ने बिश्वास दिलाउन वडाभित्रका बिपन्न विद्यार्थीहरुलाई विद्यालय शिक्षामा पठनपाठनको पुर्ण सामाग्री वितरण गर्ने, बिरामी भइ अक्सिजन लगाउनुपर्ने नागरिकलाई अक्सिजन सिलिन्डर उपलब्ध गराउने, रगत अभाव हुँदा खोजिदिने र बिलका आधारमा आर्थिक सहयोग गर्ने, नगरपालिकाको सब बाहनले नभ्याएको समयमा अन्य साधन प्रयोग गर्दा लाग्ने खर्च ब्यबस्थापन, सर्पले टोकेर उपचार गर्नुपर्ने बिरामीलाई उपचार खर्च सहयोग गर्ने, अति बिपन्न सुत्केरी आमालाई पोषण सहयोग, अति बिपन्न परिवारमा अन्तिम काजकिरिया गर्न आर्थिक सहयोग गर्ने, सुत्ने खाट नहुने परिवारलाई काठको खाट वितरण गर्ने, नबजात शिशुलाई खोप लगाउन सिटि सफारीको ब्यबस्थापन, मृत्यु भएको बेला रातिको लागि बत्तिको ब्यबस्थापन गर्ने लगायतको काम गर्दै आएको वडा अध्यक्ष नवीन कार्कीले बताउनु भएको छ ।