इटहरी – नेकपा (एमाले) सुनसरी जिल्ला कमिटीले आयोजना गरेको वडा केन्द्रित तीनमहिने अभिमुखीकरण कार्यक्रम गरेको छ। कार्यक्रम इटहरी लायन्स क्लबको हलमा प्रमुख अतिथि नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवाली रहनुभएको थियो। उहाँले आफ्नो सम्बोधनमा पार्टी संगठन सुदृढीकरण, कार्यकर्ता परिचालन तथा वडा स्तरमा आम नागरिकलाई प्रत्यक्ष रूपमा पार्टीसँग जोड्ने अभियानलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभयो।
अभिमुखीकरण कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इन्चार्ज शेरधन राई, केन्द्रीय सदस्य एवं सुनसरी जिल्ला इन्चार्ज जगदिश कुसियैत, केन्द्रीय सदस्य लक्ष्मी गौतम, तैयब हुसेन, भगवती चौधरी, तथा कोशी प्रदेश कमिटीका अन्य सदस्यहरू अतिथिका रूपमा उपस्थित रहनुभएको थियो।
कार्यक्रममा नेकपा (एमाले) को प्रदेश, जिल्ला तथा पालिका कमिटीका नेता तथा कार्यकर्ताहरू गरी करिब १,२०० जनाको सहभागिता रहेको एमाले कोशी प्रदेश प्रचार विभाग उपप्रमुख भीमज्वाला राईले जानकारी दिनुभयो। उहाँका अनुसार यो अभियानको उद्देश्य गाउँ, बस्ती, टोल तथा वडास्तरसम्म पार्टीको उपस्थिति विस्तार गर्दै संगठनलाई थप सशक्त बनाउनु हो।
कार्यक्रमको अध्यक्षता नेकपा (एमाले) सुनसरीका कार्यवाहक अध्यक्ष पर्शुराम यादवले गर्नुभएको थियो भने सञ्चालन पार्टी जिल्ला सचिव राम कोइरालाले गर्नुभएको थियो। स्वागत मन्तव्य नेकपा (एमाले) सुनसरीका उपसचिव याम सुब्बाले दिनुभएको थियो।
यस अभियानले सुनसरी जिल्लाका सवै वडाहरूमा संगठनात्मक सञ्जाल विस्तार गर्ने लक्ष्य राखेको छ। एमालेका नेताहरूले स्थानीय कार्यकर्ताहरूसँग प्रत्यक्ष छलफल गरी पार्टी नीति, संगठन सुदृढीकरण, विकास योजना तथा जनअपेक्षाहरूलाई सम्बोधन गर्ने रणनीति बनाउने बताएका छन्।
कार्यक्रमका वक्ताहरूले वर्तमान राजनीतिक अवस्था, एमालेको भुमिका, संगठनलाई कसरी अझै बलियो बनाउन सकिन्छ भन्ने विषयमा प्रकाश पार्नुभएको थियो। साथै, यो अभियानको प्रभावकारिता सुनिश्चित गर्न निरन्तर अनुगमन र समिक्षा गरिने पनि नेताहरूले उल्लेख गर्नुभएको छ।
नेकपा (एमाले) सुनसरी जिल्ला कमिटीद्वारा आयोजित वडा केन्द्रित तीनमहिने अभियान एमालेका लागि जनसंपर्क, संगठन सुदृढीकरण र कार्यकर्ता अभिमुखीकरणको महत्वपूर्ण कार्यक्रम भएको नेताहरूले बताएका छन्। पार्टीको नीति तथा कार्यक्रमलाई जनस्तरसम्म पुर्याउन यो अभियानले सशक्त भूमिका खेल्ने अपेक्षा गरिएको छ।


