इटहरी | इटहरीको भएको विश्व आदर्श कलेजमा उद्यमशीलता तथा वित्तीय साक्षरता तालिम सम्पन्न भएको छ ।
इटहरी उपमहानगरपालिका वडा नम्बर ४ को आयोजनामा तथा नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत राष्ट्रिय युवा परिषद्को सहजकर्तामा उद्यमशीलता तथा वित्तीय साक्षरता तालिम आइतबार सफलतापूर्वक सम्पन्न भएको छ।
माघ २८ गतेदेखि सुरु भएको सात दिने तालिम विश्व आदर्श कलेज, इटहरीमा सञ्चालन भएको थियो। तालिमको समापन समारोहमा विश्व आदर्श एकेडेमीका अध्यक्ष लेखनाथ घिमिरेको अध्यक्षता तथा इटहरी उपमहानगरपालिका वडा नम्बर ४ का वडा सदस्य अमृत बस्नेतको विशेष उपस्थिति रहेको थियो। तालिमको प्रशिक्षक लक्ष्मी प्रसाद आचार्य र तारा गीरी, तथा विभिन्न विशिष्ट व्यक्तिहरूको सहभागिता थियो। कक्षा १२ देखि डिग्री तहसम्मका ३२ जना भन्दा बढी विद्यार्थीहरूले तालिममा भाग लिएका थिए।
सहभागी अभिषेक खतिवडाका अनुसार, यस तालिमले व्यवसाय सञ्चालन गर्ने तरिका, वित्तीय व्यवस्थापन तथा उद्यमशील सोचको विकासमा महत्वपूर्ण योगदान पुर्याएको छ। विद्यार्थीहरूको लागि यो तालिम फलदायी भएको विश्व आदर्श कलेजका प्रिन्सिपल गणेश दुलालले बताउनुभयो ।
प्रशिक्षक लक्ष्मी प्रसाद आचार्यका अनुसार, युवाहरूलाई आर्थिक साक्षरता तथा व्यावसायिक सीप प्रदान गर्नु तालिमको प्रमुख उद्देश्य रहेको थियो। उक्त तालिमले युवाहरूलाई आत्मनिर्भर बन्न प्रेरित गर्ने र व्यावसायिक क्षमताको विकास गर्ने विश्वास गरिएको छ।


