विराटनगर – प्रेस चौतारी नेपाल कोशी प्रदेशको अध्यक्षमा सुनसरी निवासी सुमन पुरी निर्विरोध निर्वाचित भएका छन्। विराटनगरमा बुधबार सम्पन्न दोस्रो प्रदेश अधिवेशनले पुरीलाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको हो। उनी यसअघि उपाध्यक्ष पदमा कार्यरत थिए ।
यस अधिवेशनमार्फत पुरीको नेतृत्वमा ४९ सदस्यीय कार्यसमिति निर्विरोध रूपमा चयन गरिएको छ। पत्रकारहरूको हकहित र प्रेस स्वतन्त्रताको रक्षा गर्दै सञ्चार क्षेत्रको सशक्तीकरणका लागि नयाँ नेतृत्वले महत्वपूर्ण भुमिका खेल्ने अपेक्षा गरिएको छ।
नयाँउपाध्यक्षमा युवराज विवश, महिला उपाध्यक्षमा ज्योति चौहान, महासचिवमा बाबुराम भण्डारी र कोषाध्यक्षमा विशाल नेम्वाङ निर्वाचित भएका छन् । यसैगरी सचिवमा रविन कट्टेल, दिनेश सुब्बा, भोला श्रेष्ठ, मञ्जु डाँगी, गणेश विष्ट र लक्ष्मी उप्रेती निर्वाचित भएका छन् ।
अधिवेशनमा प्रेस चौतारी नेपाल अध्यक्ष गणेश बस्नेत, एमाले स्थायी कमिटी सदस्य तथा प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतम, कोशी प्रदेश मुख्यमन्त्री हिक्मतकुमार कार्की, प्रेस चौतारी नेपालका उपाध्यक्ष गणेश पाण्डे, राजेश राई, हिरामान लामा लगायतका वरिष्ठ पत्रकारहरू सहभागीता रहेको थियो ।
उनीहरूले नेपालको पत्रकारिता क्षेत्रको विकास, सञ्चार नीति, प्रेस स्वतन्त्रताको संरक्षण, र डिजिटल मिडियाको भविष्यबारे महत्वपूर्ण विचार राखेका थिए।
यस महाधिवेशनमा आयोजक र प्रतिनिधि गरी १५६ जना सहभागी भएका थिए। कार्यक्रमको व्यवस्थापन प्रेस चौतारी नेपाल केन्द्रीय निर्वाचन समितिका अध्यक्ष गणेश खनालले गरेका थिए।
नवनिर्वाचित अध्यक्ष सुमन पुरीले आफ्नो कार्यकालमा प्रेस स्वतन्त्रताको रक्षा, पत्रकारहरूको पेशागत सुरक्षा, तथा मिडिया क्षेत्रको प्रवर्द्धनलाई विशेष प्राथमिकता दिने बताएका छन्। उनले भने,
"नेपालको पत्रकारिता क्षेत्रलाई अझ व्यवस्थित, सुरक्षित, र सशक्त बनाउने हाम्रो मुख्य लक्ष्य हुनेछ। विशेष गरी डिजिटल पत्रकारिताको विस्तार, सञ्चार क्षेत्रको नवीनतम प्रविधि अपनाउने, र प्रेस जगतलाई अझ पारदर्शी तथा विश्वसनीय बनाउने योजनामा हामी अगाडि बढ्नेछौं।"
यस अधिवेशनबाट नयाँ नेतृत्व चयन भएसँगै पत्रकारिता क्षेत्रमा सुधारका नयाँ सम्भावनाहरू खुल्ने आशा गरिएको छ।
प्रेस चौतारी नेपाल कोशी प्रदेशको दोस्रो अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै पत्रकारिताको भविष्यलाई बलियो बनाउने प्रतिवद्धता व्यक्त गरेको छ। सुमन पुरीको नेतृत्वमा निर्वाचित कार्यसमितिले पत्रकारहरूको हकहित, प्रेस स्वतन्त्रता, र सञ्चार नीति सुधारका लागि महत्वपूर्ण पहलहरू गर्ने विश्वास गरिएको छ।
अब आउने दिनहरूमा पत्रकारिता क्षेत्रका सुधार र चुनौतीहरूको सामना गर्न कस्तो रणनीति अपनाइन्छ भन्ने हेर्न बाँकी छ।


