इटहरी । म्याङ्लुङ नगरपालिकाका नगर प्रमुख संजयकुमार तुम्बाहाङ्फेले तेह्रथुम र पाँचथर जिल्लाको सिमानामा रहेको तमोर नदीको लम्बुघाट पुल निर्माण कार्यलाई तीव्रता दिई छिट्टै सम्पन्न गर्न आग्रह गर्नुभएको छ । पुल निर्माण ढिलाइ हुँदा यस क्षेत्रका स्थानीय बासिन्दा यातायात अवरुद्ध भई कठिनाइ भोग्न बाध्य भएका छन् । नगर प्रमुख तुम्बाहाङ्फेले यस विषयलाई लिएर भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र मन्त्रालयका सचिव केशव कुमार शर्मासँग भेटघाट तथा छलफल गर्नुभएको छ । भेटका क्रममा उहाँले पुल निर्माणका लागि आवश्यक बजेट तथा अन्य प्राविधिक अवरोध हटाई निर्माण कार्यलाई शीघ्र सम्पन्न गर्न सरकारी पक्षबाट विशेष पहल गरिनुपर्ने माग राख्नुभएको थियो । लम्बुघाट पुल निर्माण कार्य सुरु भएको लामो समय भए पनि अझै सम्पन्न हुन नसक्दा तेह्रथुम र पाँचथरका बासिन्दा मर्कामा परेका छन् । विशेष गरी, विद्यार्थी, व्यवसायी, तथा किसानहरूले पुल नबन्दा दैनिक आवतजावतमा कठिनाइ भोग्नुपरेको गुनासो गर्दै आएका छन् । स्थानीय तहका प्रतिनिधिहरूले पुल निर्माण कार्यमा ढिलाइ हुँदा आर्थिक, सामाजिक, र शैक्षिक क्षेत्र प्रभावित भएको बताएका छन् । किसानहरूले आफ्नो उत्पादन सहज रूपमा बजारसम्म पु¥याउन नसक्दा आर्थिक घाटा व्यहोर्नुपरेको छ भने सर्वसाधारणले लामो दुरी घुमेर यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । भेटका क्रममा मन्त्री दाहालले लम्बुघाट पुल निर्माणलाई सरकारले उच्च प्राथमिकता दिएको उल्लेख गर्दै छिट्टै निर्माण कार्य सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले प्राविधिक र बजेटीय समस्या समाधान गर्न सम्बन्धित निकायसँग समन्वय गरी कार्य अघि बढाउने जानकारी दिनुभयो ।


