इटहरी । इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेल र उपमेयर सहितको जनप्रतिनिधि बिचको विवाद तत्काललाई समाधान भएको छ । मेयर पौडेलको कार्यकक्षमा ताला लगाउने तयारी गरेको उपमेयर सहित जनप्रतिनिधि सँगको मौखिक सहमतिमा विवाद समाधान भएको हो ।

प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहता बिदामा बसेकाले आइतबार लिखित सहमति गर्ने प्रतिबद्धता सहित बिहीबारको वार्ता टुङ्गिएको हो । मेयर पौडेलले एकलौटी रूपमा कर्मचारी सरुवा गरेको र प्रशासन प्रमुख सञ्जीव खड्काले अटेर गरेको भन्दै रुष्ट रहेको उपमेयर सहित जनप्रतिनिधिहरु सहमतिमा आएका हुन्।

कर्मचारी सरुवा बदर गर्ने, अधिकृत खड्कालाई माफी माग्न लगाउने, पुरानो भुक्तानी दिने र नयाँ योजना सुरु गर्न मेयर तयार भएपछि सहमति भएको उपमेयर सङ्गीता चौधरीले बताइन् । उनका अनुसार प्रमुख प्रशासकीय अधिकृत बिदामा बसेको कारण तत्काल कागजी रूपमा सहमति बाहिर ल्याउन नसकिएको बताउँदै उनले आइतबारबाट योजना सुरु गर्ने पत्र सम्बन्धित शाखा र वडामा पुग्ने जानकारी दिइन् ।

प्रशासन प्रमुख खड्का र उपमेयर चौधरी सहित जनप्रतिनिधि बिचको विवादले उग्र रूप लिएपछि उपमहानगरपालिकामा लफडा भएको हो । नेपाली कांग्रेसका मेयर निकट भनिएका सञ्जीव खड्काको कार्यकक्ष प्रशासन शाखामा नेकपा एमाले निकट उपमेयर सहित जनप्रतिनिधिले लगाएको ताला मेयरको निर्देशनमा फोडिएको भन्दै पौडेलप्रति आक्रोशित बनेको थियाे ।