इटहरी । उत्तरी क्षेत्रबाट भोजपुर र सङ्खुवासभालाई जोड्ने अरुण नदीको लम्सुवाघाटमा निर्माण भइरहेको पक्की पुल १४ वर्षबाट अलपत्र बनेको छ । करिब रु चार करोड खर्च भएपछि यो पुल निर्माण अलपत्र बनेको हो । लम्सुवाघाटमा वि।स। २०६७ सालबाट पुल निर्माण थालिएको थियो । छ पिलरको बेस राखेपछि यहाँको पुल निर्माण अलपत्र बनेको षडानन्द ६ का वडाध्यक्ष सुमन विसुन्केले बताउनुभयो । यहाँ एक सय ७२ मिटर लामो पक्की पुल निर्माणका लागि काम थालिएको थियो । निर्माणको क्रममा नै अलपत्र बनेको पुल सम्पन्न गराउन राज्यले ध्यान दिनु पर्ने षडानन्द ६ का स्थानीयवासी सीताराम लम्सालले बताउनुभयो । पुक्की पुल नहुँदा आवतजावतमा समस्या रहेको उहाँको भनाइ छ । निर्माण कम्पनीले २०६७ सालदेखि पुल निर्माण सुरु गरेको थियो । सम्झौता अनुसार पुल २०७० सालमा सक्नु पर्ने थियो । तर निर्माण कम्पनीले काममा ढिलाई गरेपछि राज्यको तर्फबाट ठेक्का रद्द गरिएको सडक डिभिजन कार्यालय तुम्लिङटार प्रमुख शुभाञ्जन दाहालले जानकारी दिनुभयो । २०७८ सालमा ठेक्का रद्द प्रक्रियामा गएपछि निर्माण कम्पनीले हालेको मुद्दा कार्यालयको पक्षमा फैसला भएको उहाँको भनाइ छ । फैसलापछि पनि निर्माण कम्पनीले क्षति पूर्तीको माग गर्दै पुनः अदालतमा रिट दायर गरेको र अदालतले उक्त रिट सदर गरेकाले तीन सदस्य मध्यस्त कर्तामार्फत समस्या समाधन प्रक्रियामा रहेको उहाँको जानकारी दिनुभयो ।अहिले कम्पनीको धरौटी बापतको रु ७७ लाख रकम रोक्का रहेको उहाँले जानकारी दिनुभयो ।


