ताप्लेजुङ  \ मुक्कुम्लुङ पाथीभरामा निर्माणाधीन केबलकार परियोजनाको विषयमा उत्पन्न विवाद समाधान गर्न सरकार र सरोकारवाला पक्षहरूबीच सहमति जुटेको छ। गृह मन्त्रालयद्वारा गठित वार्ता टोली र आन्दोलनरत पक्षहरूबीच भएको छलफलपछि केबलकार निर्माण स्थगित गर्ने निर्णय भएको हो।

सम्झौताअनुसार, केबलकारको स्टेसनमाथिको निर्माण कार्य तत्काल स्थगित गरिनेछ भने स्टेसनका सन्दर्भमा आगामी माघ २७ गते थप छलफल गरिनेछ। त्यस्तै, आन्दोलनका क्रममा घाइते भएकाहरूको निःशुल्क उपचार गरिने, घटनाको छानबिन गरी कानुनी कारबाही अघि बढाइने, र थुनामा रहेका आन्दोलनकारीहरूको विना शर्त रिहाइ प्रक्रिया सुरु गरिनेछ।

यसबाहेक, मुक्कुम्लुङ संरक्षक पक्षले घोषणा गरेको अनिश्चितकालीन यातायात बन्द पनि फिर्ता लिएको छ। यस विवादका अन्य विषयहरू माघ २७ गते बिहान ११ बजे पुनः छलफल गरिनेछ।

वार्ता सहजीकरण समितिका तर्फबाट सरस्वता सिंगक (सरु) र वार्ता टोली संयोजक प्रेमप्रसाद भट्टराईले संयुक्त रूपमा सहमतिपत्र जारी पत्रमा छ ।

ताप्लेजुङको पाथीभरा क्षेत्रमा निर्माणाधीन केबलकार परियोजनालाई लिएर विभिन्न स्थानीय संघसंस्था, धार्मिक तथा सांस्कृतिक समूहहरूले असहमति जनाउँदै आएका थिए। उनीहरूले मुक्कुम्लुङ क्षेत्रको संरक्षणका लागि संघर्ष समिति गठन गरी आन्दोलन चर्काएका थिए। सरकार र स्थानीय पक्षहरूबीचको पछिल्लो सहमतिले समस्या समाधानको मार्ग खोल्ने अपेक्षा गरिएको छ।