दिक्तेल | दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको वडा नं. १, बेस क्याम्प (जैपुरेडाँडा) मा प्रथम मझुवागढी कालिका भगवती मिनी महोत्सव आयोजना हुने भएको छ। नमुना स्पोर्ट्स क्लब, वडा नं. ५, खोटाङ को आयोजनामा हुन गइरहेको यो महोत्सव यहीँ फागुन १ गतेदेखि १६ गतेसम्म हुदैछ ।

महोत्सवको उद्देश्य मझुवागढी कालिका भगवतीको पर्यटन प्रवर्द्धन गर्नुका साथै स्थानीय संस्कृति, कृषि, खेलकुद र मनोरञ्जनलाई प्रवर्द्धन गर्ने रहेको नमुना स्पोर्ट्स क्लबका अध्यक्ष सविन राईले जानकारी दिनु भयो ।

महोत्सवमा कृषि मेला प्रदर्शनी, पत्रकार तथा विभिन्न विद्याका खेलाडीहरूलाई सम्मान, गायन तथा लोक नृत्य प्रतियोगिता जस्ता विविध कार्यक्रम समावेश गरिने क्लबका अध्यक्ष राईले बताउनुभयो ।

त्यसैगरी, महोत्सवलाई थप आकर्षक बनाउन विभिन्न मनोरञ्जनात्मक खेलहरू जस्तै रोटेपिङ, मिकिमाउस, स्कार्पियो गाडी, जम्पिङ, तिरबोर्ड, हात्तीघोडा रेस, सिक्स रेस, घडी चिड्डा लगायतका खेलहरूको व्यवस्था गरिएको छ। साथै, हरेक दिन सांगीतिक कार्यक्रम पनि सञ्चालन गरिनेछ।

नगर कार्यपालिकाको कार्यालय, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले यस महोत्सव सञ्चालनका लागि अनुमति प्रदान गरेको छ। यसैगरी, जिल्ला प्रशासन कार्यालय, खोटाङको पत्रमार्फत आवश्यक सुरक्षा व्यवस्थाका लागि सुरक्षा निकायहरूलाई अनुरोध भइसकेको छ।

यस महोत्सवले स्थानीय पर्यटन, संस्कृति, खेलकुद र मनोरञ्जनलाई प्रवर्द्धन गर्नुका साथै आर्थिक गतिविधिलाई समेत टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।