इटहरी | इटहरीको श्रीकृष्ण प्रणामी प्रतिष्ठान नेपालको ४६ औं वार्षिकोत्सव तथा १०८ पारायण अन्तर्राष्ट्रिय महोत्सवको अवसरमा मङ्गल राधिका सदानन्द प्रणामी अस्पतालको उद्घाटन हुने भएको छ।
मुक्तिधाममा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएअनुसार, यहीँ चैत २४ गतेदेखि २०८२ बैशाख १ गतेसम्म चल्ने वार्षिकोत्सवको समापन दिन बैशाख १ गते परमहंस सन्त शिरोमणि स्वामी सदानन्द महाराजले अस्पतालको उद्घाटन गर्नुहुनेछ।
सुनसरीको इटहरी तथा सुन्दरहरैंचाका जनताले गुणस्तरीय स्वास्थ्य सेवा सहज रूपमा पाउन सकून् भन्ने उद्देश्यले अस्पताल सञ्चालन गर्न लागिएको हो। ५०० शैय्याको सुविधा सम्पन्न अस्पताल स्थापना गर्ने लक्ष्य लिइए पनि प्रारम्भमा १५ शैयाको अस्पताल उद्घाटन गरिनेछ।
अस्पताल उद्घाटनसँगै श्रीमत्तारतम सागर पाठ, श्रीमद्भागवत कथा लगायत विभिन्न धार्मिक कार्यक्रम आयोजना गरिनेछ। साथै, सप्ताहव्यापी निःशुल्क स्वास्थ्य शिविर पनि सञ्चालन गरिनेछ।
सञ्चालनका लागि श्रीकृष्ण प्रणामी प्रतिष्ठान नेपाल ले विभिन्न सहयोग तथा दान अभियान सञ्चालन गरिरहेको छ। इच्छुक भक्तजन तथा सेवाग्राहीहरूले अस्पताल संरक्षक (१ करोड), विशिष्ट सदस्य (५० लाख), आजीवन सदस्य (१ लाख) जस्ता योजनाहरू मार्फत परोपकारी सेवामा सहभागी हुन सक्नेछन्।
श्रीकृष्ण प्रणामी प्रतिष्ठान नेपालका अध्यक्ष हेमप्रसाद घिमिरेका अनुसार, इटहरीको आवश्यकता अनुसार अस्पताल सञ्चालन गर्न लागिएको हो। अस्पतालमा एमडी एक जना र २ जना एमबिबिएस डाक्टरले २४ सै घण्टा सेवा दिनेछन् । अस्पतालले धरानको वीपी अस्पतालकै शुल्क बराबर हुने गरी आधुनिक ल्याब तथा फार्मेसी सेवा पनि प्रदान गर्ने अध्यक्ष घिमिरेले जानकारी दिए ।
विदुषी सपना माताजीबाट श्रीमद्भागवतको सप्ताहव्यापी कृष्ण कथा वाचन हुनेछ । पाठ पारायणमा सहभागी हुन राष्ट्रपति पनि सहभागि हुने जानकारी दिइएको छ ।
महोसत्वमा देश तथा विदेशबाट करिव १० हजार मानिसहरु इटहरी आउने प्रचार प्रसार समितिका उपसचिव दुर्गाराज थपलीयाले बताउनुभयो । यस अभियानले धार्मिक आस्था तथा सामाजिक सेवाको समन्वय गर्दै समाजमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।


