वितरक संघ कोशीको २३औं साधारण सभा सम्पन्न
-
- माघ २०, २०८१
- २७१ पटक पढिएको
विराटनगर – वितरक संघ कोशीको २३औं साधारण सभा संघका अध्यक्ष लाल कार्कीको सभापतित्वमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाल वितरक महासंघका केन्द्रीय अध्यक्ष हरिराज पन्त प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो।
सभामा नेपाल वितरक महासंघका वरिष्ठ उपाध्यक्ष टंक प्रसाद खनाल, महासंघको कोशी प्रदेशका अध्यक्ष कृष्णराज श्रेष्ठ, इटहरी वितरक संघका अध्यक्ष राजेश खनाल, विराट व्यापार संघका अध्यक्ष अंशु बञ्जारा, संखुवासभा वितरक संघका अध्यक्ष हिमाल श्रेष्ठ, तथा मोरङ मदिरा व्यवसायी संघका अध्यक्ष गोविन्द बानियाँको विशेष उपस्थिति रहेको थियो।
वक्ताहरूले संघको आवश्यकता, उद्देश्य, र यसको भविष्यका सम्भावनाहरू बारेमा आफ्ना महत्त्वपूर्ण धारणा राखेका थिए। कार्यक्रममा संघका विभिन्न सदस्यहरूको उल्लेखनीय सहभागिता रहनुका साथै संघको सफलताको कामना व्यक्त गरिएको थियो।
सभामा वितरक व्यवसायको समसामयिक चुनौतीहरू, व्यापार प्रवर्द्धनका उपायहरू, तथा संघको सुदृढीकरणका लागि आवश्यक रणनीतिहरूबारे व्यापक छलफल भएको थियो।
कार्यक्रमले वितरक संघ कोशीको भविष्यका योजनाहरूलाई अझ व्यवस्थित रूपमा अघि बढाउन उत्प्रेरणा प्रदान गरेको आयोजकहरूले बताएका छन्।