इटहरी । हिउँद सुरु भएसँगै मोरङका सीमसार क्षेत्र भरिभराउ हुन थालेका छन् । खासगरी मोरङको बेतना सीमसारमा पछिल्लो समय बिदाको दिन र शनिबार आन्तरिक पर्यटकले भरिने गरेको छ । सीमसार क्षेत्रमा बनभोज खान पुग्ने मात्र होइन, संघसंस्थाको साधारणसभा, गोष्ठी र सेमीनार पनि सीमसार क्षेत्रमा हुने गरेको छ । मोरङमा सबैभन्दा व्यस्त र भीड हुने पर्यटकीय केन्द्र बेलबारी –४ को बेतना सीमसार पर्छ । पूर्वपश्चिम महेन्द्र राजमार्गसँगै जोडिएर रहेको सिमसार क्षेत्रमा बिदाको दिन खुट्टा राख्ने ठाउँसम्म पाइदैन । १७४ दशमलव ९१ हेक्टरमा फैलिएको सामुदायिक वनमा ११ हेक्टर क्षेत्रफल सीमसार क्षेत्र रहेको छ । ७ हेक्टरमा पोखरी क्षेत्र रहेको छ । हिउँदमा साइबेरियादेखि दुर्लभ प्रजातिका चराहरु आउने गरेकाले पनि यो क्षेत्र आकर्षक गन्तव्य बनि रहेको जानकारहरू बताउँछन् । बेतना सामुदायिक वन उपभोक्ता समितिको संरक्षणमा रहेको सीमसार क्षेत्रको अर्को आकर्षण विश्व कै दुर्लभ प्रजातिका कछुवा हुन् । सीमसार भित्र सय केजीभन्दा बढी तौलका कछुवाहरू जो कोहीले सजिलै अवलोकन गर्न सक्ने वनका अध्यक्ष शम्भु भट्टराई बताउनुहुन्छ । बेतनालाई दुर्लभ प्रजातिका कछुवाको प्रजनन् केन्द्रका रुपमा पनि चिनिन्छ । विभिन्न जातका माछा, जीवजन्तु, वनस्पति बेतना सीमसार क्षेत्रका थप आकर्षण हुन् । अझ पछिल्लो समय सीमसार परिसरमा चिडियाखानको झल्को दिने गरी उद्धार गरी ल्याइएको जङ्गली जीव जन्तुको संरक्षण गरिएको छ । अध्यक्ष भट्टराईका अनुसार सीमसार क्षेत्रमा नील गाई, विभिन्न प्रजातिका बाँदर, लोखर्के, वन बिरालो, सर्प, अंजिगर, चाइनिज मुसा, खरायो, लाटोकोसेरो, हुँचिल, दुम्सी, चित्तल लगायतका जीवजन्तु संरक्षण गरिएको छ । सीमसार क्षेत्रलाई पर्यटकीय केन्द्र बनाउने उद्देश्यले वातावरण सौन्दर्यविदहरूको सहयोगमा कमिलो, विभिन्न प्रजातिका हाडखोरहरुको प्रतिमा समेत बनाएर राखिएको छ । जसले उक्त क्षेत्रको फरक पहिचान दिएको छ । सीमसार क्षेत्रमा दुई प्रजातिको दुर्लभ बेत वनस्पति पाइन्छ । सीमसारमा रहेको पानीले करिब एक हजार बिगाहा जमीनलाई बाह्रै महिना सिन्चित गरेको छ । विं।स २०५७ सालमा बेतौना जलउपभोक्ता समूह गठन गरी पानी उपयोग गर्दै आएका किसानहरु सम्मिलित समूहले समेत सो सीमसार क्षेत्रको संरक्षण गर्दै आएका छन् । सीमसार क्षेत्रको संरक्षणका लागि वरिपरि तार घेराबारा समेत गरिएको छ । केही वर्ष अघि बेतना महोत्सवको आयोजना गरेपछि बेतना पोखरीमा डुङ्गा समेत राखिएको छ जुन हाल आएर आम्दानीको मुख्य स्रोत भएको छ । सीमसारले उपलब्ध गराएको तथ्याङ्क अनुसार साउन यता शनिबारसम्ममा ५१ हजार एक सय जना पर्यटकले टिकट काटेर बेतना भ्रमण गरेका छन् । तथ्याङ्क अनुसार प्रतिव्यक्ति ५० रुपियाँ दरले यस अवधिमा करिब २५ लाख ५५ हजार रुपियाँ । यो तथ्याङ्कमा १० वर्ष मुनिका बालबालिका, ७० वर्ष माथिका वृद्धवृद्धा, स्थानीय उपभोक्ता, जनप्रतिनिधि, सञ्चारकर्मी तथा समितिले उपलब्ध गराएको उपभोक्ता कार्ड होल्डरहरुलाई दिइएको छुट समावेश गरिएको छैन । त्यस्तै सोही अवधिमा ६ हजार दुई सय मोटरसाइकल पार्किङबाट एक लाख २४ हजार, साना चारपाङ्ग्रे सवारी साधन ६ सय ५३ वटाबाट सवारी पार्किङ शुल्क ३२ हजार ६५० र ५८ वटा बस पार्किङबाट पाँच हजार आठ सय रुपियाँ सङ्कलन भएको छ । साइकल पार्किङबाट एक हजार चार सय रुपियाँ, वनभोज शुल्कबाट ३८ हजार र डुङ्गा सञ्चालनबाट तीन लाख ८६ हजार ५५० गरी कुल ३१ लाख ४३ हजार चार सय आम्दानी भएको बेतना सिमसारले जनाएको छ ।


