इटहरी । मोरङ्गको निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधि सभाका सांसद डा.शर्माले जेसीजको आस्था र मर्म जस्तै हालका राजनीतिक दलहरूले काम गरेको भए मुलुक चाँडै सुध्रिने विचार राख्नुभएको छ । शुक्रबार पथरी शनिश्चरे –०२ को हरियाली सामुदायिक वनको सभाहलमा पथरी जेसीजको १३ औ पद हस्तान्तरण तथा पुरस्कार वितरण समारोहमा उहाँले उक्त कुरा बताउनुभएको हो । पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोले पथरी जेसीजको वर्ष २०२४ को टिमले उदाहरणीय कार्य गरेकोमा प्रशंसा गर्नुहुँदै आगामी दिनहरुमा पनि नवनिर्वाचित जेसीज पदाधिकारीहरूले अझै राम्रो कार्यहरू गर्न शुभकामना राख्नुभएको थियो । पथरी जेसीजको नव निर्वाचित अध्यक्ष निर्मला भट्टराईले पदभार ग्रहण गर्नुभएको छ । भट्टराई पथरी जेसीजकी दोस्रो महिला अध्यक्ष हुनुहुन्छ । उहाँले वर्ष २०२५ का लागि अध्यक्ष पद निर्विरोध जित्नुभएको हो । संविधानसभाका सांसद डा. सुनिल शर्माको प्रमुख आतिथ्यता तथा कोशी प्रदेश सभाकी प्रमुख सचेतक तथा सांसद गीता तिम्सिना, पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापो, संविधानसभाका सभासद द्वय चण्डी प्रसाद राई र लालबहादुर सुस्लिल मगर , नेपाल , निरुपीत राष्ट्रिय उपाध्यक्ष उज्ज्वल काब्रा,जेसिज २०२४ का कार्यकारी उपाध्यक्ष भीमबहादुर कुँवर लगायतको विशिष्ट आथित्यतामा स्काउटका भाइबहिनीहरूले राष्ट्रिय झण्डा सहित नव निर्वाचित अध्यक्षलाई पद हस्तान्तरण गराएका थिए । नवनिर्वाचित पदाधिकारीहरूमा क्रमशः महासचिव पदमा नगेन्द्रबहदुर घिमिरे, कार्यकारी उपाध्यक्ष पदमा निरोज बस्नेत र विराज राजा कार्की निर्वाचित हुनुभएको छ । यसैगरी, उपाध्यक्ष पदका लागि सजिना सेन्चुरी, विजय सहनी, तीर्थराज अधिकारी र जीवन ढकाल पनि निर्वाचित हुनुभएको छ भने हिमाल सेन्चुरी ’समीर’ कोषाध्यक्ष पदका लागि निर्विरोध निर्वाचित हुनुभएको छ । उक्त समारोहमा नवनिर्वाचित पदाधिकारीहरूलाई अध्यक्ष निर्मला भट्टराईले पदीय जिम्मेवारी सहित पद तथा गोपनियताको शपथग्रहण गराउनु भएको थियो ।


