इटहरी स् लामो समयसम्म अलपत्र परेको जिल्ला अस्पताल खोटाङको ५० शय्याको भवन निर्माण सम्पन्न भई हस्तान्तरण गरिएको छ । नयाँ भवनमा आवश्यक सामग्री जडान गरेर तिहारपछि सेवा सञ्चालन गर्ने तयारी छ ।
नेपाल सरकारको २२ करोड ९० लाख ४७ हजार ९२ रुपैयाँ लागतमा निर्माण गरिएको सुविधासम्पन्न भवन सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय ओखलढुङ्गाले अस्पताललाई हस्तान्तरण गरेको हो । बिहीबार आयोजनाका प्रमुख इन्जिनियर सुरज पौडेलले जिल्ला अस्पतालका निमित्त प्रमुख डा। पुस्कल राईलाई भवन हस्तान्तरणको प्रमाणपत्र बुझाए । अस्पताल भवन निर्माणका लागि २०७८ असार २४ गते सम्झौता गरी ३० महिनाभित्र काम सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । श्यामसुन्दर–रामसागर–नेपाल फूलबारी जेभीले जिम्मा लिएको लिफ्टसहितको चारतले आरसिसी भवन निर्धारित समयमा सम्पन्न हुन सकेको थिएन ।
पटकपटक ताकेता गर्दा पनि काम अघि नबढेपछि कारबाहीको प्रक्रिया सुरु गरिएको थियो । त्यसपछि निर्माण कम्पनीले जिल्लाकै निर्माण व्यवसायी सुनिल राईलाई काम सम्पन्न गर्ने जिम्मा दिएको हो । तुवाचुङ कन्स्ट्रक्सन प्रालिका प्रबन्ध निर्देशकसमेत रहेका राईले जिम्मा लिएपछि बाँकी काम सम्पन्न गरी भवन आयोजनालाई बुझाइएको थियो । आयोजनाले औपचारिक रूपमा अस्पताललाई भवन हस्तान्तरण गरेसँगै नयाँ भवनबाट सेवा सञ्चालनको तयारी अघि बढेको छ । अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति खोटाङका प्रमुख राईले आवश्यक सामग्री जडान गरेपछि सेवा सुरु गरिने जानकारी दिए । उनका अनुसार तिहारपछि नयाँ भवनबाट ५० शय्याको सेवा सञ्चालन गर्ने योजना छ ।
‘सुविधासम्पन्न अस्पताल भवनका लागि आवश्यक सामग्री जडान गर्न बाँकी छ । तिहारपछि सबै सामग्री जडान गरेर ५० शय्याको सेवा शुभारम्भ गर्ने योजनामा छौँ’, उनले भने । उनले विशेषज्ञ चिकित्सकसहितको सेवा उपलब्ध भएपछि उपचारका लागि जिल्लाबाहिर जानुपर्ने बाध्यता हट्ने दाबी गरे । ‘सेवा सञ्चालनपछि उपचारका लागि कोही पनि बाहिर जानुपर्दैन । अस्पतालमा विशेषज्ञ डाक्टरसहितको सबै सेवा उपलब्ध हुन्छ । विगतमा जस्तो सामान्य बिरामीको उपचारकै लागि जिल्लावासीले हेलिकप्टर चार्टरका लागि सिरानीमा पैसा राखेर बस्नु पर्दैन’, उनले भने । आयोजनाका प्रमुख इन्जिनियर पौडेलले लामो समयसम्म अलपत्र रहेको अस्पताल भवनको निर्माण सम्पन्न गर्न सहयोग गर्ने सबै पक्षलाई धन्यवाद दिए । निर्माण कम्पनीका प्रतिनिधि राईले आफ्नै जिल्लाको अस्पताल भवन निर्माणको काम गर्न पाउँदा खुसी लागेको बताए ।
२०४९ वैशाख १ गते १५ शय्याको सेवा उपलब्ध गराउने गरी स्थापना भएको जिल्ला अस्पतालमा २०८२ असार २२ गते ५० शय्याको सेवा शुभारम्भ गरिएको थियो । भवन निर्माण सम्पन्न नहुँदै कोशी प्रदेशका तत्कालीन स्वास्थ्य एवं भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले उक्त सेवा शुभारम्भ गरेका थिए । स्थापनाको ३३ वर्षपछि अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरिए पनि आवश्यक भवन तयार नहुँदा सेवा प्रभावित भएको थियो । भवन निर्माण नसकिँदै मन्त्रीको उपस्थितिमा तामझामका साथ सेवा शुभारम्भ गरिएको भन्दै सामाजिक सञ्जालमा असन्तुष्टिसमेत व्यक्त भएको थियो । नयाँ भवनको पहिलो तलामा ओपीडी, इमरजेन्सी, शल्यक्रिया, एक्स–रे, फार्मेसी र सुरक्षाकक्षलगायतका संरचना निर्माण गरिएका छन् । दोस्रो तलामा प्रसूतिसम्बन्धी सेवा तथा शल्यक्रियाका लागि आवश्यक संरचना बनाइएको छ । तेस्रो तलामा आईसीयू, आइसोलेसन र क्याबिनको व्यवस्था गरिएको छ । चौथो तलामा प्रशासन, लेखा र सेमिनार हललगायतका संरचना तयार गरिएका छन् ।

