इटहरी। मादल बनाउने कालीगढको अभावमा यहाँको स्थानी बजारमा नयाँ मादल पाउननै मुस्किल परेको छ ।
कुनै समय तिहारमा मादल बनाउने कालीगढको काम भ्याइनभ्याइ हुन्थ्यो । नयाँ मादल किन्न र पुराना मादल मर्मत गर्न । आजकाल दक्ष कालीगढले मादल बनाउननै छोडेपछि बजारमा मादल पाउन मुस्किल पर्दै गएको हो । मादल बनाउन चाहिने छाला र काठ पाउन कठिन हुँदै गएको छ । सामुदायिक वनमा काठ काट्न नपाइने र छाला पनि सहजै उपलब्ध नहुने भएपछि नयाँ मादल उत्पादन गर्न झन समस्या भएको कालीगढहरू भन्नुहुन्छ । नयाँ मादल बनाउने काम घटे पनि पुराना मादल मर्मत गर्ने काम भने अझै जारी छ ।
नीरकाजी बिशङ्खेले पुरानो मादलको खरी मात्रै लगाउँदा दुई हजार, दुवैपट्टि ताल फेर्दा चार हजार र एकपट्टि मात्रै फेर्दा तीन हजार लिने गरेको बताउनुभयो । नयाँ मादल बनाउने काम घट्दै गएको छ । करिब ५६ वर्षदेखि मादल बनाउने काम गर्दै आउनुभएका ओखलढुङ्गाको ठूलाछापका नीरकाजी बिशङ्खेले यो परिवर्तनलाई नजिकबाट अनुभव गर्नुभएको छ । उहाँका लागि तिहार कुनै समय सबैभन्दा व्यस्त सिजन थियो । मादल बनाउन र मर्मत गर्न आउने ग्राहकको चापले फुर्सद मिल्दैन थियो । तिहारको समयमा नयाँ–पुराना गरेर सयौँ मादल बनाउने र मर्मत गर्ने गरेको सम्झना उहाँलाई अझै याद छ ।
तर अहिले त्यही सिजनमा उहाँ फुर्सदिलो हुनुहुन्छ । उहाँसँग यसपालि मुस्किलले केही थान मादल मात्रै मर्मतका लागि आएका छन् । नीरकाजीका अनुसार पहिले मादल बनाउने कामबाट तिहारको सिजनमा डेढ लाख भन्दा बढी आम्दानी हुन्थ्यो । कुनै समय त दुई लाखदेखि तीन लाखसम्म कमाइ हुने गरेको उहाँको अनुभव छ । समयसँगै मादलको माग घट्दै जाँदा आम्दानी पनि खुम्चिएको छ । पोहोरसम्म ७० हजारदेखि ८० हजारसम्म कमाइ भए पनि अहिले त्यो अवस्था छैन । उहाँका अनुसार अहिले मादलको कामबाट हुने आम्दानी २५ हजारदेखि ३० हजारसम्ममा सीमित छ । ठूलाछापमा मादल बनाउने चार पाँच घर छन् । तर सबैको अवस्था उस्तै छ । नयाँ मादल बनाउनेभन्दा पुराना मादल मर्मत गर्ने काम बढी छ ।
ग्राहकको अभाव र कच्चा पदार्थको समस्या दुवै भएपछि नयाँ उत्पादनमा लगानी गर्नसमेत कालीगढहरू हिचकिचाउन थालेका छन् । मादल बनाउने काममा अहिले सबैभन्दा ठूलो समस्या कच्चा पदार्थको अभाव देखिएको छ । मादल बनाउन गाईगोरु, राँगा र बाख्राको छाला आवश्यक पर्छ । तर अहिले गाईगोरुको छाला सहजै उपलब्ध हुन छाडेको कालीगढहरूको भनाइ छ । पहिले गाउँमै गाईगोरु पाइने र छालाको व्यवस्था गर्न सजिलो हुने गरेको थियो । अहिले गाउँमा गाईगोरु कम हुँदै गएका छन् । छाला पाउन मुस्किल भएपछि राँगा र बाख्राको छाला मिलाएर काम चलाउनुपर्ने अवस्था छ । मादल बनाउन आवश्यक सामग्री सहजै उपलब्ध नहुँदा नयाँ मादल उत्पादन गर्न कठिन भएको नीरकाजी बताउनुहुन्छ । उहाँको अनुभवमा सामग्री जुटाउनै समस्या भएपछि मेहनतअनुसार आम्दानी नहुने अवस्था छ । त्यसैले पुराना मादल मर्मत गरेर पेसा धान्ने प्रयास भइरहेको उहाँले बताउनुभयो ।
मादल बनाउने पेशामा आएको सङ्कट नीरकाजीको मात्रै अनुभव होइन । पुस्तौँदेखि मादल बनाउने काम गर्दै आउनुभएका ८० वर्षीय कालीबहादुर विशङ्खेको अनुभव पनि उस्तै छ । उहाँले १२ वर्षको उमेरदेखि मादल बनाउन थाल्नुभएको हो । बाल्यकालमै सिकेको सीपलाई उहाँले जीवनको लामो समयसम्म निरन्तरता दिनुभयो । पहिले तिहारको सिजनमा नयाँ मादल बनाउने र पुराना मादल मर्मत गर्ने कामले फुर्सद मिल्दैनथ्यो । यो सिजनमा २० देखि २२ वटासम्म नयाँ मादल बनाउने गरेको उहाँलाई सम्झना छ । त्यतिबेला बजारमा मादल बिक्री नभए अर्को हप्ता लगेर बेच्ने गरिन्थ्यो । मादल मर्मत गर्न आउने ग्राहक पनि उत्तिकै हुन्थे । तर अहिले नयाँ मादल बनाउने काम लगभग बन्द भएको छ । उहाँले बनाएका केही मादल बिक्री हुने आशामा घरमै राख्नुभएको छ । पुर्खाबाट सिकेको सीप नयाँ पुस्तामा हस्तान्तरण हुन नसक्नु पनि मादल बनाउने पेसा सङ्कटमा पर्नुको अर्को कारण हो । बुबा र बाजेले मादल बनाएको देखेरै सीप सिकेका धनबहादुर बैराङ्गी सार्की अहिले आफ्ना सन्तानले यो पेसालाई निरन्तरता नदिएको बताउनुहुन्छ ।
पहिले परिवारमै सीप सिक्ने र पुस्तान्तरण हुने गरे पनि अहिले नयाँ पुस्ता गाउँमा बस्न नचाहने र बाहिर जाने क्रम बढेको उहाँको अनुभव छ । पढाइलेखाइ धेरै नभएकाले पुर्खाको पेसालाई नै आफ्नो काम बनाएको उहाँको भनाइ छ । खेतीपातीसँगै मादल बनाउने काम गरेर जीवन चलाउँदै आउनुभएका उहाँ अहिले काम नपाउँदा समस्यामा हुनुहुन्छ । पहिले मादल बनाउने कामबाट दैनिक आम्दानी हुने गरे पनि अहिले महिनामा दुई–तीन दिन मात्रै काम पाइने अवस्था छ । काम पाएको दिन रु पाँच सयदेखि हजारसम्म कमाइ भए पनि नियमित काम नहुँदा त्यसले जीविका चलाउन पुग्दैन । धनबहादुर गुनासो गर्नुहुन्छ । तिहारको सिजनमा मादल मर्मत गरेर रु पाँच हजारदेखि सात हजार मात्रै कमाइ हुने गरेको उहाँ बताउनुहुन्छ । तर त्यो पनि ग्राहक आए मात्रै सम्भव हुन्छ । मादल मर्मतको काम नियमित नहुँदा आम्दानीको भरपर्दो स्रोत खस्किन थालेको छ ।
मादलको प्रयोग घट्नुमा आधुनिक प्रविधिको विस्तारलाई पनि कालीगढहरूले कारण मानेका छन् । पहिले चाडपर्व, उत्सव र रमाइलोका अवसरमा मादल बजाउने चलन बढी थियो । गाउँघरमा मादलको तालमा गीत गाउने र रमाइलो गर्ने गरिन्थ्यो । अहिले डेक र मोबाइलबाट गीत बजाउने प्रवृत्ति बढेको उनीहरूको अनुभव छ । यसले मादलको प्रयोग र माग दुवै घटाएको छ । ठूलाछापकै लगने सार्कीले पनि मादल बनाउने पेसामा आएको परिवर्तनलाई नजिकबाट अनुभव गर्नुभएको छ । उहाँका अनुसार कुनै समय मादल बनाउने काममा उहाँको घरमा मात्रै होइन, वरपरका १२–१४ जना मानिससमेत संलग्न हुन्थे ।
तिहारको समयमा दुई हप्तासम्म कामको चाप हुन्थ्यो । मादल बनाउन आउने ग्राहकको भीडले कामदारलाई समेत व्यस्त बनाउँथ्यो । अहिले भने त्यो अवस्था छैन । “पहिले लाखभन्दा बढी कमाइ हुन्थ्यो । अहिले मान्छे नै आउँदैनन् । बजारमा लगेर के गर्नु रु गाडीभाडा खर्च गरेर लगे पनि बिक्री हुँदैन ।” उहाँ भन्नुहुन्छ । उहाँका अनुसार मादलको माग घट्नुमा डेक र मोबाइलको प्रयोग बढ्नु मुख्य कारण हो । पहिले गाउँघरमा मादल बजाउने चलन थियो । अहिले गीतसङ्गीतका लागि विद्युतीय उपकरणको प्रयोग बढेको छ । मादल बजाउने मानिस नै कम हुँदै गएपछि नयाँ मादल किन्ने ग्राहक घटेका हुन् । स्थानीय कालीगढले बनाएका मादललाई अनलाइनबाट आउने मादलले समेत प्रतिस्पर्धामा पारेको उहाँको भनाइ छ । बजारमा आकर्षक देखिने मादल पाइए पनि स्थानीय कालीगढले बनाउनेजस्तो खरीको आवाज र गुणस्तर नभएको उहाँको दाबी छ ।
उहाँका अनुसार मादलको वास्तविक आवाज निकाल्न खरी लगाउने सीप महत्वपूर्ण हुन्छ । खरी लगाउने र त्यसलाई मिलाउने काममा अनुभव आवश्यक पर्छ । मादलको आवाज र गुणस्तर कायम राख्न खरी लगाउने काम महत्त्वपूर्ण हुन्छ । तर त्यसका लागि चाहिने सामग्री जुटाउन सहज छैन । तर मर्मतका लागि पनि नियमित ग्राहक नआउनु मुख्य समस्या हो । अहिले ग्राहकको आवश्यकता परे मात्रै कालीगढले काम पाउने अवस्था छ । मादल बनाउने पेसामा सङ्कट आउनुका पछाडि एउटै कारण छैन । मादलको प्रयोग घट्नु, डेक र मोबाइलको बढ्दो प्रयोग, बजारमा अनलाइनबाट आउने मादलसँगको प्रतिस्पर्धा, कच्चा पदार्थको अभाव र नयाँ पुस्ताको अरु पेशातर्फ आकर्षण यसको प्रमुख कारणका रूपमा देखिएको छ । कालीगढका लागि मादल बनाउनु केवल आम्दानीको माध्यम मात्रै होइन, पुर्खाबाट सिकेको सीप र जीवन गुजार्ने आधार पनि हो । तर अहिले त्यही पेसाबाट परिवार चलाउन कठिन छ । मादल नेपाली लोकसंस्कृति र चाडपर्वसँग जोडिएको बाजा हो । तर यसलाई बनाउने सीप भएका कालीगढकै पेसा सङ्टमा पर्दै गएको छ ।
कुनै समय तिहारको सिजनमा कामको चाप थेग्न नसक्ने कालीगढ अहिले ग्राहकको प्रतीक्षामा छन् । यही अवस्था रही रहे मादल बनाउने पेसा मात्रै होइन, पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको सीपसमेत हराउँदै जाने चिन्ता कालीगढहरूमा देखिन्छ ।


