इटहरी । मोरङको पथरी शनिश्चरे वडा नम्बर २ बुद्धचोकमा केन्द्रीय कार्यालय रहेको लर्ड बुद्ध साकोस पथरी शनिश्चरेले आफ्नो २३ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको छ । बिहीबार आयोजित कार्यक्रममा सो साकोसको आफ्नै कार्यालय प्राङ्गणमा १ सय ९ जनाले रक्तदान गर्नुभएको हो । “रक्तदानः जीवनदान“ भन्ने मूल नाराका साथ लडबुद्ध साकोसद्वारा आयोजना तथा रेडक्रस सोसाइटी उर्लाबारी उपशाखाको प्राविधिक सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा पथरी शनिश्चरे नगरपालिकाभित्रका विभिन्न सामाजिक, शैक्षिक तथा वित्तिय संघ– संस्थाहरूका महानुभावहरूले रक्तदान गर्नुभएको थियो । पथरी शनिश्चरे वडा नं १ को पञ्चायत माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष युवराज बास्कोटाले ’एक पाउण्ट’ रगत दान गरेर शुभारम्भ गर्नुभएको रक्तदान कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरूकोे सक्रिय सहभागिता रहेको थियो । रेडस्टार माध्यमिक विद्यालयका भाइस प्रिन्सिपल बसन्त मादेन, सुनाखारी माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष तथा शैक्षिक अभियन्ता प्रदीप कुमार राई एवंम् अन्य विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले सहभागिता जनाउनुभएको व्यवस्थापक गणेश कुमार वाच्छना राईले जानकारी दिनुभयो । उक्त अवसरमा साकोसका अध्यक्ष धनराज राई’ अमीर ’, सचिव महेन्द्र ढुङ्गाना, कोषाध्यक्ष दोर्णबहादुर खड्का लगायत पदाधिकारीहरूको उपस्थिति रहेको थियो।


