इटहरी । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित चारवटा टोलका स्थानीयले आयातित पेयपदाथ सेवनमा प्रतिबन्ध लगाएका छन् । आयातित पेयपदार्थले आर्थिक, परम्परागत संस्कृति र स्वास्थ्यमा समेत प्रतिकूल असर पु¥याएको भन्दै गैरी फुलेली, कुसुङ्खा, उर्लेनी र छापगाउँका स्थानीवासीले बिहे, छेवर, गुन्युचोली, पास्नी, काजकिरिया तथा विभिन्न चाडपर्व र मेलापातमा यसअघि सेवन गरिँदै आइएको आयातित पेयपदार्थ सेवनमा पूर्ण रूपले प्रतिबन्ध लगाएका हुन् । बाहिरी जिल्लाबाट आयातित पेयपदार्थ सेवनले आर्थिक, सांस्कृति तथा मानव स्वास्थ्यमा समेत प्रतिकूल असर गरेकाले पूर्ण रूपमा प्रतिबन्ध लगाइएको सामाजिक अभियान्ता अरुण राईले जानकारी दिनुभयो । गैरी फुलेलीमा गत असोज २९ गते स्थानीय सुशीला राईको विवाहदेखि आयातित पेयपदार्थ सेवनमा पूर्ण रूपले प्रतिबन्ध लगाइएको स्थानीयवासीले बताएका छन् । २८ परिवार रहेको गैरी फुलेलीमा स्थानीय फुलेली सेवा समाजको पहलमा गत असोज १६ गते भएको भेलाको निर्णयले गाउँमा हुने काजभोज तथा मेलापातमा आयातित पेयपदार्थ सेवनमा पूर्ण प्रतिबन्ध लगाएको हो । कुसुङ्खाका स्थानीयवासीले भने गत वर्षदेखि नै पेयपदार्थ आयात तथा सेवनमा प्रतिबन्ध लगाएका थिए । बुइपाको एउटा गाउँबाट सुरु गरिएको यस अभियान क्रमशः अर्को टोल तथा गाउँमा विस्तार हुँदै जानु सकारात्मक भएको स्थानीय डार्विन चाम्लिङको भनाइ छ ।   आयातित पेयपदार्थ प्रतिबन्ध लगाइएका गाउँ तथा टोलहरूमा हुने काजकिरिया तथा चाडपर्वमा परम्परागत रूपमा प्रयोग हुँदै आएको सगुन स्थानीयस्तरमा उत्पादन हुने जाँड, रक्सी र चिया० प्रयोग गर्ने गरिएको स्थानीयवासीले बताएका छन् । गाउँमा हुने बिहे तथा मेलापातमा यसअघि ड्यू, कोक, जुसका साथै मादक पदार्थका रूपमा सेवन गरिने विभिन्न कम्पनीका रम, बियरलगायत पेयपदार्थ प्रयोग गर्दा स्वास्थ्यका साथै यस्तो गर्नेहरूले ठूलो आर्थिक नोक्सानी हुने गरेको थियो ।   आयातित पेयपदार्थ सेवनमा प्रतिबन्ध लगाउने स्थानीयवासीको निर्णयलाई वडा कार्यालयको समेत सहयोग र समर्थन रहेको बुइपाका वडाध्यक्ष दिनेश राईले बताउनुभयो ।