इटहरी। पर्यटन प्रवर्द्धन गर्न ‘निसान पदमार्ग’ मा आजदेखि तीनदिने पदयात्रा आयोजना हुँदैछ । तत्कालीन नेपाल एकीकरणका समयमा पूर्वी सीमा विजय गरेर गाडिएका निसान फर्काइएको मार्ग पहिचान गरी ‘निसान पदमार्ग’ निर्माण गरिएको थियो । यही पदमार्गमा पदयात्राको कार्यक्रम आयोजना गरिएको इलामस्थित नेपाली सेना, रणशार्दूल गणले जनाएको छ । नेपाल–भारत सिमाना जोडिएको मेची नदीको मुहानबाट इलाम सदरमुकामस्थित निसान स्थापना गरिएको माईस्थान मन्दिरसम्मको ४१ किलोमिटर पदमार्गमा पदयात्रा गरिने गणपति प्रल्हद घलेले जानकारी दिनुभयो । तत्कालीन श्रीनाथ पल्टनले पूर्वको भूभाग विजय गरेर गाडेका निसान सुगौली सन्धिपछि फर्काएर राखिएका स्थानलाई जोडेर पदयात्रा तयारी गरिएको हो ।
आज बिहान मेची बजारबाट पदयात्राको औपचारिक थालनी हुनेछ । नेपाली सेना, स्थानीय जनप्रतिनिधि, पर्यटन व्यवसायी र सरोकारवालाको टोलीले पदयात्रामा सहभागी हुने जनाइएको छ । यही पुस २६ गतेसम्म जारी हुने पदयात्राका लागि स्थानीयले ठाउँठाउँमा स्वागतको तयारी गरेका छन् । पदमार्गअन्तर्गत पर्ने सूर्योदय, इलाम नगरपालिका र माईजोगमाई गाउँपालिकाका विभिन्न स्थानमा पदयात्रीको स्वागतका लागि स्थानीय जाजातिको झाँकीसहित स्वागत गर्ने जनाएको छ । रणशार्दूल गणको पहलमा गत वर्षदेखि निसान पदमार्ग पहिचान गर्न थालिएको थियो । यसका लागि ती पालिकाले सेनालाई सहयोग गरेको थियो । मेची बजारबाट सुरु हुने पदयात्रा सूर्योदय नगरपालिकाको पूर्णेडाँडामा पुस २५ गते शुभारम्भ गरी माईजोगमाईको नामसालिङस्थित हात्तीटारमा बास बस्ने कार्यक्रम छ । पुस २६ गते बिहान नामसालिङबाट पुनः सुरु भएको पदयात्रा माईबेनी हुँदै अहिले निसान र तोप राखिएको इलाम –७ स्थित माईस्थान मन्दिरमा पदयात्राको समापन गरिने कार्यक्रम तय भएको इलाम नगरप्रमुख केदार थापाले बताउनुभयो । सो गणको अगुवाइमा तीन पालिकाले संयुक्त रूपमा आयोजना गरेको पदयात्रामा करिब एक सयको हाराहारीमा सहभागी हुने जनाइएको छ । सुगौली सन्धिपश्चात तत्कालीन नेपाली सेनाले इलाम सदरमुकाममा निसान ल्याउन प्रयोग गरिएको मार्गलाई नेपाली सेनाको समन्वयमा तीन पालिकाले पहिचान गरी कार्यान्वयनमा ल्याएको हो । यसअघि भारतको नागरीगढीबाट नेपाल–भारत सीमाक्षेत्र सात माइल, मेची मुहान, सिद्धीखोला, गैरीगाउँ, रम्फोक, नयाँचोक, जोगमाईखोला, हात्तीटार, माईबेनी, तिल्केनी हुँदै माईस्थान मन्दिरसम्मको नक्सा तयारी गरी सार्वजनिक गरिएको थियो ।
निसान पदमार्गको पदयात्राले इलामको पर्यटन प्रवर्द्धनमा योगदान पु¥याउने अपेक्षा गरिएको सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले बताउनुभयो । इलाम नगरपालिकाका प्रमुख थापाले निसान पदमार्ग पहिचानले इलामको ऐतिहासिक, धार्मिक, सांस्कृतिक सम्पदाको पहिचान, संरक्षण तथा प्रवर्द्धनमा सहयोग पुर्याएको बताउनुभयो । सुगौली सन्धिपछि मिरिकस्थित नागरीगढीमा रहेको श्रीनाथ सिंह पल्टन अहिलेको इलाम सूर्योदय नगरपालिकाको करफोकस्थित पूर्णेडाँडामा आएर बसेको इतिहास छ । मेचीदेखि नागरीगढी हुँदै टिस्टासम्मको भू–भाग ४० दिनभित्र गढी खाली गर्न सम्झौता भयो । सम्झौता कार्यान्वयन गर्दै तत्कालीन सुब्बा जयन्त खत्रीले नागरीगढी खाली गरी सदरमुकाम करफोक ल्याएका थिए । पूर्णेडाँडा भारतीय सीमा नजिक भएको र अङ्ग्रेजले जुनसुकै बेला आक्रमण गर्न सक्ने भएकाले मुकाम खडा गर्नेक्रममा हालको माईजोगमाई गाउँपालिकाको नामसालिङस्थित हात्तीटार हुँदै श्रीनाथ सिंह पल्टन इलाम –७ स्थित माईस्थान मन्दिर ल्याइएको बताइएको छ । माईस्थान मन्दिर विसं १८८० स्थापना भएको अनुमान छ । हाल निसान सोही मन्दिरमा संरक्षण गरी राखिएको छ ।


