मोरङ | घृत कौशिक गोत्र सुतार कार्की कुल पुजा समाज इटहरी सुनसरी द्वारा कुल पूजा भवनको शिलान्यास गरिएको छ । सोमबार सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ७, ठडिया स्थित ८ सय वर्ग फिट क्षेत्रमा निर्माण गरिने भवनको शिलान्यास संस्थाका संस्थापक अध्यक्ष तथा प्रमुख सल्लाहकार कृष्ण बहादुर कार्कीले गर्नुभएको हो ।
संस्थापक कार्कीले आफ्ना बुबा आमा देवीप्रसाद र ललिता कार्कीका नाममा उक्त भवन निर्माण गर्ने हुनु भएको छ । शिलान्यास कार्यक्रममा समाजका अध्यक्ष दिपक कार्कीले भवन निर्माणको उद्देश्यबारे जानकारी गराउँदै यसले परम्परागत मूल्य, धार्मिक सम्पदा, र सामुदायिक एकतालाई सुदृढ बनाउने बताउनुभयो । उहाँका अनुसार यो भवन समाजको सांस्कृतिक, धार्मिक, र सामुदायिक गतिविधिहरूको केन्द्र बन्नेछ ।
भवन सुतार कार्की सेवा समिति इटहरीको नेतृत्वमा निर्माण हुन लागेको हो । भवन १२ धुर क्षेत्रफलमा फैलिएको जग्गामा छ । यसमा पूजा कक्ष, बैठक कक्ष, र विभिन्न सामुदायिक गतिविधिका लागि उपयोगी अन्य सुविधाहरू राख्ने गरि निर्माण हुने संस्थापक अध्यक्ष कृष्ण बहादुर कार्कीले बताउनु भयो ।
सोहि स्थानमा संस्थाका सल्लाहकार इन्द्रबहादुर कार्कीले ४ सय वर्गमिटर क्षेत्रफलभित्र दुई भवन निर्माणका लागि शिलान्यास गर्नुभएको छ । उक्त कार्यक्रममा कृष्णबहादुर कार्की र उहाँकी धर्मपत्नीको पनि सहभागिता रहेको थियो । प्रतिष्ठानका महासचिव मनोज कार्कीले सो जानकारी दिँदै शिलान्यास गरिएको संरचना प्रतिष्ठानको विकास र सामुदायिक सेवा विस्तारका लागि महत्त्वपूर्ण हुने बताउनुभएको छ । घृत कौशिक गोत्र सुतार कार्की कुल समाज इटहरी सुनसरीले धार्मिक र सांस्कृतिक धरोहरको संरक्षणमा निरन्तर योगदान दिँदै सामाजिक उत्थानमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने गरि योजना अगाडि सरिएको छ ।

