इटहरी । धनकुटाका व्यवसायी तथा उद्यमीले ठूला उद्योगसँग प्रतिष्पर्धा गर्न नसकेको तथा बैंकको चर्को ब्याजले उद्योग बन्द गर्न परेको गुनासो गरेका छन् । घरेलु तथा साना उद्योग कार्यालय धनकुटाले आयोजना गरेको धनकुटामा औधोगिक लगानी र रोजगारीको सृजना विषयक अन्तरक्रिया कार्यक्रममा उनीहरुले अनुदानका लागि फर्म खोल्ने र अनुदान पछि बन्द गर्ने चलनको अनुगमन नभएको गुनासो गरेका हुन् । आफन्तलाइ अनुदान वितरण गरेको, नविकरण नभएका संस्थालाई अनुदान वितरण भइरहेको बताएका हुन् । सहभागि किसानले बैंकले ऋण लिँदा एउटा व्याजदर निर्धारण गर्ने गरेको र तिर्ने बेलामा दोब्बर बनाउने गरेको गुनासो गरेका छन् । उनीहरुले तराइका बजारबाट सस्तो मुल्यका नाममा गुणस्तरहिन फलफूल तथा मासुजन्य वस्तु ठेला तथा सवारी बजार घुमाएर माइकिङ गर्दै बेच्दा पनि घरेलु कार्यालय, नगरपालिका तथा उद्योग वाणिज्य संघ मौन बसेको गुनासो गरेका छन् । कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय धनकुटाका प्रमुख माधव बास्कोटाले दैनिक २ देखि ३ वटा उद्योग खारेजी भइरहेका जानकारी दिनुभयो । उहाँले धनकुटामा रहेको औधोगिक ग्राममा ६२ वटा ब्लक बन्ने भनिएकोमा २४ वटा बनिसकेको र त्यसमा पनि १२ ब्लक सञ्चालनमा रहेको जानकारी दिनुभयो । उहाँले व्यवसायी तथा उद्यमीको समस्या समाधान गर्न सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो । कार्यक्रममा धनकुटाका प्रमुख जिल्ला अधिकारी टुबराज पोख्रेलले धनकुटामै उत्पादन भएको सामग्री प्रयोग गर्न र धनकुटाकै प्राविधिक मार्फत मर्मत कार्य गर्न जिल्लाका सरकारी कार्यालयमा पत्राचार गरि कार्यान्वय गर्ने प्रतिवद्धता जनाउनु भयो । कार्यक्रममा जिल्लाभरिका उद्यमी तथा व्यवसायी, स्थानीय जनप्रतिनिधि, विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।


