इटहरी। टोल विकासका गतिविधि र छलफललाई थपप्रभावकारी बनाउन इटहरी उपमहानगरपालिका वडा नम्बर ५ स्थित तुलसा टोल विकास संस्थाले आफ्नै भवन निर्माण गरेको छ।

नवनिर्मित भवन र प्रवेशद्वारको उद्घाटन इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगिता कुमारी चौधरीले गरेकी छन्। यो कार्यक्रम संस्थाको ९औं वार्षिक साधारणसभाको अवसरमा आयोजना गरिएको थियो।

कार्यक्रममा भवन निर्माणका लागि साढे ६ धुर जग्गा दान गर्ने शारदाप्रसाद अधिकारी, मेनुका अधिकारी, र लक्ष्मी अधिकारी दाहाललाई विशेष सम्मान गरिएको थियो। साथै, चार जना जेष्ठ नागरिक र प्रवेशद्वार निर्माणमा सहयोग पुर्याउने अन्य दाताहरुलाई पनि सम्मान गरिएको थियो।

कार्यक्रमको अध्यक्षता तुलसा टोल विकास संस्थाका अध्यक्ष तुलसी प्रसाद भट्टराईले गरेका थिए। प्रमुख अतिथि उपप्रमुख चौधरीले संस्थाले आफ्नै भवन निर्माण गरेर टोल विकासका गतिविधि सहज बनाएकोमा प्रशंसा गरिन्। उनले आगामी दिनमा पनि इटहरी उपमहानगरपालिकाले टोल विकास संस्थाहरूलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

संस्थाका सचिव श्याम भट्टराईले भवन निर्माणपछि टोलका विकास कार्यहरू थप प्रभावकारी र सरल भएको बताए।

वार्षिक साधारणसभामा इटहरी वडा नम्बर ५ का वडाध्यक्ष भिष्मकुमार घिमिरे, संस्थापक अध्यक्ष क्षेत्र बहादुर कार्की, पूर्व अध्यक्ष जगन्नाथ दाहाल, सल्लाहकार देवी कार्की लगायतको सहभागिता रहेको थियो।

नवनिर्मित भवन र प्रवेशद्वार टोल विकासका गतिविधिलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन उपयोगी हुने विश्वास व्यक्त गरिएको छ।