सुनसरी | मोरङको सुन्दरहरैँचामा सामुदायिक वनभित्र महिलाको शव फेला परेको छ ।
घटनाको प्रकृति हेर्दा हात्ती आक्रमणबाट मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सुन्दरहरैँचा नगरपालिका ५ स्थित नमुना सामुदायिक वनमा गुरुङ टोल बस्ने ६० वर्षीया चन्द्रकुमारी लिम्बूको शव फेला परेको हो ।
‘सामुदायिक वनमा घाँस, दाउरा काट्न गएको र घर नफर्किएको सूचना आएपछि प्रहरी र स्थानीयबासीले खोजी गरिएको थियो। उनका अनुसार मृतक महिला सोमबारदेखि घर नआएपछि खोजी कार्य जारी राखिएको थियो ।
शव पोस्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । ‘घटनाको प्रकृति हेर्दा हात्तीले आक्रमण गरेर मृत्यु भएकोजस्तो देखिन्छ । पोस्टमार्टम रिपोर्ट नआइकन यसै भन्न सकिन्न,’ उनले भने ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।


