सुनसरी / सुनसरीको रामधुनी नगरपालिकामा न्यायिक समितिको अन्तर्क्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। रामधुनी नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रमको अध्यक्षता नगर उपप्रमुख तथा न्यायिक समिति संयोजक तारा थापाले गरिन् भने नगर प्रमुख शंकरलाल चौधरी प्रमुख अतिथिका रूपमा उपस्थित थिए।
कार्यक्रममा अधिवक्ता तथा प्रशिक्षक कला त्रितालले सहभागी जनप्रतिनिधिलाई प्रशिक्षण दिइन्। प्रशिक्षणले न्यायिक समितिको भूमिका, कानूनी समस्या समाधानका प्रभावकारी तरिका, र स्थानीय तहमा देखिने विवाद समाधान प्रक्रियाबारे स्पष्ट दिशानिर्देश प्रदान गरेको थियो।
नगर उपप्रमुख तारा थापाले न्यायिक समितिको भूमिकाबारे प्रकाश पार्दै यस प्रकारका अन्तर्क्रियाले विवाद समाधान प्रक्रिया थप प्रभावकारी हुने विश्वास व्यक्त गरिन्। उनले महिला हिंसा, बालबालिकासम्बन्धी समस्या, र अन्य सामाजिक मुद्दाहरूको समाधानका लागि प्रहरी प्रशासनसँग नियमित समन्वय गर्न आवश्यक रहेको औँल्याइन्।
नगर प्रमुख शंकरलाल चौधरीले कार्यक्रमलाई सफल र प्रभावकारी भन्दै यसले स्थानीय तहको कानूनी सेवा प्रणालीलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरे।
कार्यक्रममा रामधुनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद कुमार चौधरी, ९ वटै वडाका वडा अध्यक्षहरू, वडा सदस्यहरू, र न्यायिक समितिका कर्मचारीहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो।
यो अन्तर्क्रिया कार्यक्रमले न्यायिक समितिको कार्यप्रणालीलाई थप प्रभावकारी बनाउने र स्थानीय तहमा कानूनी समस्याहरूको समाधानमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।


