सुनसरी | रामधुनी नगरपालिकामा राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा विशेष सम्मान तथा अन्तक्र्रिया कार्यक्रम आयोजना गरिएको छ। रामधुनी नगरपालिकाका ९ वटै वडाका जेष्ठ नागरिकलाई नगद, ब्ल्यांकेट वितरण गर्दै सम्मान गरिनुका साथै उनीहरूका समस्याबारे छलफल गरिएको छ।
रामधुनी नगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा नगर प्रमुख शंकरलाल चौधरी प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो भने कार्यक्रमको अध्यक्षता जेष्ठ नागरिक नगर समिति रामधुनीका कार्यबाहक अध्यक्ष दिपनाराय चौधरीले गर्नुभएको थियो। कार्यक्रममा नगर प्रमुख चौधरीले जेष्ठ नागरिकहरू समाजका अभिभावक भएको उल्लेख गर्दै उनीहरूको सम्मान र स्याहार नगरपालिकाको प्रमुख दायित्व रहेको धारणा व्यक्त गर्नुभयो। उहाँले जेष्ठ नागरिकलाई सधैँ ससम्मान गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।
कार्यक्रममा नगरपालिकाका उप-प्रमुख तारा थापाले जेष्ठ नागरिकलाई सम्मान गर्नुका साथै आगामी दिनमा उनीहरूको लागि तिर्थयात्रा लगायतका विशेष कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो। यसै क्रममा जेष्ठ नागरिक नगर समिति रामधुनीका कार्यबाहक अध्यक्ष दिपनाराय चौधरीले जेष्ठ नागरिकको सम्मानले समाजमा सकारात्मक सन्देश जाने बताउनुभयो।
नगरपालिकाको तर्फबाट ९ वटै वडाका एक/एक जना जेष्ठ नागरिकलाई नगद र ब्ल्यांकेट प्रदान गरिएको थियो। नगर प्रमुख, उप-प्रमुख, वडा अध्यक्षहरू, प्रमुख प्रशासकीय अधिकृत प्रमोद कुमार चौधरी, माया घर नेपाल इटहरीकी अध्यक्ष सुभद्रा प्याकुरेल लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरू र नगरका जेष्ठ नागरिकहरूको उत्साहपूर्ण उपस्थिति रहेको थियो।
कार्यक्रमको दौरान जेष्ठ नागरिकहरूले आफूहरूको अनुभव र आवश्यकताका विषयमा बोलेका थिए। यसले नगरपालिकालाई जेष्ठ नागरिकका लागि अझ प्रभावकारी नीति तथा कार्यक्रम निर्माण गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गरिएको छ।
यसरी रामधुनी नगरपालिकाले जेष्ठ नागरिकहरूको सम्मानमा आयोजना गरेको कार्यक्रमले उनीहरूको योगदानको कदर गर्दै समाजमा उनीहरूको महत्त्वपूर्ण स्थानलाई अझ बलियो बनाएको छ।



