सुनसरी – रामधुनी नगरपालिकाका उपप्रमुख तारा थापाले वडा नम्बर ८ मा निर्माणाधीन कालोपत्रे सडकको अनुगमन गर्नुभएको छ। ठुले मोहर चोकदेखि खोरिया, बानडाँडा, कालिझोला हुँदै रामधुनी वडा नम्बर २ जोड्ने यस सडक निर्माण संघीय सरकारको अनुदानमा भइरहेको छ।

रामधुनी नगरपालिकाका पछाडि परेका क्षेत्रका जनतालाई सहज यातायात सेवा उपलब्ध गराउने उद्देश्यले निर्माण भइरहेको यो सडकको कुल लागत १ करोडभन्दा बढी रहेको छ। गामा बिल्डर्सले ७६ लाख रुपैयाँमा ठेक्का लिएर २०८२ साल जेष्ठसम्म सडक निर्माण सम्पन्न गर्ने योजना बनाएको छ। सडकको कुल चौडाइ साढे ७ मिटर हुनेछ, जसमा ५ मिटर कालोपत्रे भाग समावेश छ।

सडक निर्माणको अनुगमनका क्रममा उपप्रमुख तारा थापाले यो सडकले पछाडि परेका समुदायलाई सहज यातायात सुविधा उपलब्ध गराउने र जनजीवनमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो। “विकास निर्माणका कार्यहरू नगरपालिकाको प्राथमिकतामा रहेका छन्। यस सडकले रामधुनीका विभिन्न वडाका जनतालाई इनरुवा, झुम्का बजार, इटहरी र धरानसम्म आवतजावत गर्न सहज बनाउनेछ,” उहाँले भन्नुभयो।

वडा नम्बर ८ की स्थानीय बासिन्दा कोपिला कार्कीले पछाडि परेको क्षेत्रमा सडक बनेपछि जनताको दैनिकीमा ठूलो परिवर्तन आउने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार, यो सडकले अस्पताल, बजार, स्कुललगायतका स्थानमा आवागमन गर्न सहज बनाउनेछ।

वडा नम्बर ८ का अध्यक्ष सुरेन्द्र सिंह खवासले संघीय सांसद भीम आचार्यको पहलमा यो सडक निर्माण अघि बढाइएको बताउनुभयो। उहाँले भने, “सडक निर्माणले स्थानीयलाई यातायात मात्र होइन, आर्थिक विकासका नयाँ सम्भावनाहरू पनि सिर्जना गर्नेछ। यसले स्थानीय व्यवसाय र कृषि क्षेत्रमा समेत प्रत्यक्ष प्रभाव पार्नेछ।”

रामधुनी नगरपालिकाको यस क्षेत्रमा निर्माण भइरहेको सडक ८ देखि ९ किलोमिटर लामो हुनेछ। नगरपालिकाले यसअघि पनि विभिन्न विकास निर्माणका कामहरूको अनुगमन गर्दै आएको र नगरस्तरीय योजनाअन्तर्गत सडक व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम अघि बढाइरहेको छ।1734696481832

सडक अनुगमनमा वडा नम्बर ८ का सदस्यहरू, वडा नम्बर ७ का समाजसेवी प्रेमबहादुर बस्नेत, र स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो। स्थानीयहरूले निर्माणको गुणस्तर र समयसीमाबारे प्रश्न उठाउँदै आगामी दिनमा यसले थप व्यवस्थित विकास निर्माणका कार्यहरूको सुरुवात गर्ने विश्वास व्यक्त गरेका छन्।

यो सडक निर्माण सम्पन्न भएपछि सुनसरीको सदरमुकाम इनरुवा, झुम्का बजार, इटहरी र धरानलाई रामधुनी नगरपालिकासँग जोड्ने मुख्य मार्गको रूपमा उपयोग हुनेछ। नगरपालिकाका विभिन्न वडाहरूमा यस्ता योजनाहरू अघि बढिरहेको र रामधुनीका नागरिकलाई आधुनिक सुविधा उपलब्ध गराउन निरन्तर प्रयास भइरहेको जनाइएको छ।