समीर दुलाल
इटहरी | कोशी प्रदेशमा चालु आर्थिक वर्षको पाँच महिनामा मात्र सडक दुर्घटनामा परी १८२ जनाले ज्यान गुमाएका छन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी कार्यालय, इटहरीको तथ्याङ्क अनुसार, आर्थिक वर्ष २०८१/८२ को श्रावणदेखि मंसिर २९ गतेसम्म २३०६ वटा सडक दुर्घटना भएका छन्।
यी दुर्घटनामा श्रावण महिनामा ४५३ दुर्घटनामा ३४ जनाको मृत्यु भएको छ भने भदौमा ४६५ दुर्घटनामा २७ जनाले ज्यान गुमाएका छन्। त्यसैगरी असोजमा ४८४ दुर्घटनामा ३५ जनाको मृत्यु, कात्तिकमा ४७८ दुर्घटनामा ३८ जनाको मृत्यु र मंसिर महिनाको २९ गतेसम्म ४२६ दुर्घटनामा ४८ जनाको मृत्यु भएको प्रहरी तथ्याङ्कले देखाएको छ।
दुर्घटनाका मुख्य कारणमा असावधानीपूर्वक सवारी चलाउनु, ओभरस्पीड, मद्यपान गरेर गाडी चलाउनु, सडकको खराब अवस्था, र ट्राफिक नियमको अवज्ञा रहेका छन्।
यस समस्याको समाधान गर्न ट्राफिक प्रहरीले जनचेतना अभियान, सवारी साधनको नियमित जाँच, सडक मर्मत सुधार, र ट्राफिक नियम उल्लङ्घनमा कडाइ गर्ने योजना बनाएको छ। साथै, ड्राइभरहरूको तालिमलाई प्राथमिकता दिइने बताइएको छ।
सडक सुरक्षामा सुधार ल्याउन सरकार, स्थानीय निकाय र नागरिक सबैले सहकार्य गर्न आवश्यक रहेको विज्ञहरूले बताएका छन्।


