समीर दुलाल
इटहरी / नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी कार्यालय इटहरीले हालै एक अभियान सञ्चालन गर्दै इटहरी नगरपालिकामा लाइसेन्स बिना सिटी सफारी सञ्चालन गर्ने ८१ जना चालकलाई कारवाही गरेको छ।
ट्राफिक प्रहरीले नगरपालिकाको विभिन्न स्थानमा चेकिङ्ग गर्दै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नभएका चालकहरुलाई पक्राउ गरी कारवाही गरेको हो। यो अभियानको उद्देश्य नगरपालिकामा सुरक्षित र व्यवस्थित यातायात सेवा सुनिश्चित गर्नु रहेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले बताउनु भयाे ।राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रवक्ताका अनुसार, "लाइसेन्स बिना सवारी चलाउँदा यातायात दुर्घटना र अप्रिय घटना हुने सम्भावना धेरै भएकाले यसलाई अभियानकै रुपमा अगाडि बढाईएकाे उहाकाे भनाइ छ । यसलाई नियन्त्रण गर्न हामीले नियमित रुपमा चेकिङ्ग गर्ने र कारवाही गर्ने नीति लिएकाे डिएसपी त्वातीले बताउनु भयाे ।
सिटी सफारी चालकहरुले पनि लाइसेन्स प्राप्त गर्न आवश्यक प्रकृयामा रहेकाे र आगामी दिनमा नियमपालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। ट्राफिक प्रहरी कार्यालयले सवारी चालकलाई अनिवार्य रुपमा लाइसेन्स राख्न र नियम अनुसार सवारी सञ्चालन गर्न आग्रह गरेको छ।
यो अभियानसँगै सवारी चालकहरुले ट्राफिक नियमको महत्त्व बुझ्ने र सुरक्षित यातायातका लागि आवश्यक कदम चाल्ने अपेक्षा गरिएको छ। नेपाल प्रहरीले आगामी दिनमा पनि यस्ता कारवाहीहरु नियमित रुपमा सञ्चालन गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ।


