भोजपुर | नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले मुलुकलाई निकास दिन र आर्थिक अवस्थालाई सुधार गर्न नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनाएको बताएका छन्।

शनिबार नेपाल तरुण दल भोजपुरले आयोजना गरेको कोशी प्रदेशअन्तर्गत तरुण दलका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्षहरूको भेलामा बोल्दै गुरुङले मुलुकको वर्तमान चुनौती सामना गर्न कांग्रेस र एमालेबीच सहकार्य आवश्यक रहेको स्पष्ट पारे।

उनले भने, “कतिपयलाई कांग्रेस र एमाले मिल्न अस्वाभाविक लाग्न सक्छ। कांग्रेसको प्रमुख प्रतिस्पर्धी एमाले हो र एमालेको प्रमुख प्रतिस्पर्धी कांग्रेस। तर, मुलुकलाई आर्थिक र राजनीतिक सङ्कटबाट उकास्नका लागि राष्ट्रहितलाई प्राथमिकतामा राख्दै सहकार्य गरेका हौँ।”

गुरुङले दुई प्रमुख दलबीचको सहकार्यलाई वर्तमान परिस्थितिको मागका रूपमा चित्रित गर्दै यसले मुलुकलाई आर्थिक रुपमा उन्नति गर्न मद्दत गर्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा सहभागीले तरुण दलको भूमिकाबारे छलफल गर्दै युवा नेतृत्वको सुदृढीकरण र वर्तमान राजनीतिक परिवेशमा दलहरूको भूमिकालाई अझ प्रभावकारी बनाउने उपायहरूबारे विचार आदानप्रदान गरेका थिए।