विराटनगर । झापाको बिर्तामोड नगरपालिकाका पूर्वनगर प्रमुख (पूर्वमेयर) ध्रुवकुमार शिवाकोटी पक्राउ परेका छन् । घरमा काम गर्न राखिएकी १७ वर्षीया बालिकालाई जबरजस्ती करणी (बलात्कार) गरेको आरोपमा पक्राउ उनी परेका हुन् ।

बिर्तामोड– ५ स्थित आफ्नै घरमा घरेलु कामदार राखेर पटक–पटक करणी गरेको आरोप शिवाकोटीमाथि छ । बालिकाको जाहेरीपछि प्रहरीले आज (सोमबार) शिवाकोटीलाई पक्राउ गरेको हो ।झापा प्रहरीका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दका अनुसार पक्राउ परेका शिवाकोटीमाथि अनुसन्धान भइरहेको छ । प्रहरीका अनुसार पीडित किशोरीका बुवा छैनन् । आमा भारतमा छन् ।

आमाले पनि दोस्रो विवाह गरेपछि शिवाकोटीले घरको काम गर्ने र पढाउने भन्दै बालिकालाई आफ्नो घरमा ल्याएका थिए । उनी प्राविधिक विषय पढिरहेकी   थिइन् ।शिवाकोटीबाट पटक–पटक बलात्कृत भएकी किशोरी कलेजबाट भागेर आमा भएको स्थान भारतको आसाम जान खोज्दा आफन्त नेपालको काँकडभिट्टामा रहेको टोलीले रोकेर सोधपुछ गरेको थियो । सोधपुछको क्रममा शारीरिक शोषण भएको खुलेको हो ।

आफन्त नेपालले उद्दार गर्दा उनी कलेजको पोसाकमै थिइन् । त्यसपछि प्रहरीमा जाहेरी परेको थियो । शिवकोटी २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) बाट प्रतिनिधित्व गर्दै बिर्तामोड नगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए ।