इटहरी । भुवाराम सुतार कार्की स्मृति प्रतिष्ठानद्वारा शुक्रबार बराहक्षेत्रस्थित कोकाह र कोशी नदीको संगमस्थलमा सामूहिक त्रिपिण्डी श्राद्ध र लाख बत्ति प्रज्वलन कार्यक्रम सम्पन्न गरिएको छ ।
कार्यक्रममा भुवाराम सुतार कार्कीका ३ सय भन्दा बढी परिवारका सदस्यहरूको सहभागिता थियो । स्मृति प्रतिष्ठानले पितृ प्रति श्रद्धा प्रकट गर्दै सन्तानहरूलाई एकीकृत गर्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरेको हो । सामूहिक त्रिपिण्डी श्राद्धको माध्यमबाट पितृ प्रति कृतज्ञता व्यक्त गरिनुका साथै लाखबत्ति प्रज्वलन गरी धार्मिक तथा सांस्कृतिक महत्वलाई उजागर गरिएको भुवाराम सुतार कार्की स्मृति प्रतिष्ठानका सल्लाहकार मदन सुतार कार्कीले बताउनु भयो ।
कार्यक्रमले सन्तानहरूबीच एकता र सहकार्यको भावनालाई बलियो बनाउन मद्दत गरेको सहभागीहरूले बताएका छन् । धार्मिक महत्वको यस प्रकारको गतिविधिले समाजलाई सकारात्मक सन्देश दिने विश्वास गरिएको छ ।



