इटहरी | अपांगता भएका व्यक्तिहरूको योगदानलाई सम्मान गर्दै इटहरीमा ३३औँ अन्तर्राष्ट्रिय अपांग दिवसको अवसरमा विशेष कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रममा अपांगता भएका व्यक्तिहरूको समस्या, अधिकार, र उनीहरूको जीवन सहज बनाउने उपायहरूबारे अभिमुखीकरण तथा अन्तरक्रिया गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथि प्रदेशसभा सदस्य मिना श्रेष्ठले अपांगता भएका व्यक्तिहरू समाजका अभिन्न अंग भएको उल्लेख गर्दै, उनीहरूको जीवनयापन सहज बनाउन प्रदेश सरकारको नीति र कानुनमा सुधार गर्न आफूले आवश्यक पहल गर्ने प्रतिवद्धता व्यक्त गरिन्। उनले अपांगता भएका व्यक्तिहरूलाई लक्षित गर्दै भनिन्, "तपाईंहरूको जीवन सहज बनाउनका लागि कस्ता नियमहरू आवश्यक छन् भन्ने खाका तयार गर्नुस्। तपाईंहरूको सुझावलाई संसदमा प्रस्तुत गरी प्रदेश सरकारको नीति नियममा परिमार्जनको लागि म लागिपर्नेछु।"

सांसद श्रेष्ठले अपांगता भएका व्यक्तिहरूले समाजमा पुर्‍याएको योगदान अतुलनीय रहेको बताउँदै उनीहरूलाई आत्मनिर्भर र सशक्त बनाउन स्थानीय र प्रदेश सरकारलाई थप उत्तरदायी बनाउने प्रयास गर्ने बताइन्।

कार्यक्रमकी सभापति दिलकुमारी राईले अपांगता भएका व्यक्तिहरूको समस्या, आवश्यकताहरू र उनीहरूको हकअधिकारबारे जनचेतना फैलाउन र राज्यका सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउन यस्ता कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने बताइन्। उनले भनिन्, "आजको यो विशेष दिनले अपांगता भएका व्यक्तिहरूको अधिकार सुरक्षित गर्न राज्य र स्थानीय सरकारलाई थप जिम्मेवार बनाउनेछ।"1733229817706

कार्यक्रममा अपांगता भएका व्यक्तिहरूको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका दुईजना व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। माया घर नेपालकी अध्यक्ष सुभद्रा प्याकुरेल र नेपाल चेलीबेटी अपांग महिला समाजकी पूर्व अध्यक्ष तृप्ता मगरलाई विशेष सम्मान प्रदान गरिएको हो। उनीहरूको योगदानले अपांगता भएका व्यक्तिहरूको उत्थान र सशक्तीकरणमा महत्त्वपूर्ण प्रभाव पारेको आयोजकहरूले बताएका छन्।

अपांगता संरक्षण मञ्च इटहरी सुनसरीको आयोजनामा र इटहरी उपमहानगरपालिकाको आर्थिक सहयोगमा सम्पन्न कार्यक्रममा इटहरीका २० वडाका अपांगता भएका व्यक्तिहरूको उल्लेखनीय सहभागिता थियो। कार्यक्रममा अपांगता भएका व्यक्तिहरूका समस्या, उनीहरूको जीवनयापनमा आउने कठिनाइहरू, र तिनको समाधानका उपायहरूबारे गहन छलफल गरियो।

कार्यक्रममा सहभागीहरूले अपांगता भएका व्यक्तिहरूलाई आत्मनिर्भर बनाउन आवश्यक तालिम, अवसर, र कानूनी संरचनाबारे आफ्ना विचारहरू प्रस्तुत गरे। स्थानीय सरकारका प्रतिनिधि, अधिकारकर्मीहरू, र सम्बन्धित संघसंस्थाका प्रतिनिधिहरूले पनि आफ्नो धारणा राख्दै अपांगता भएका व्यक्तिहरूको हितमा ठोस कदम चाल्नुपर्नेमा जोड दिए।

यो कार्यक्रमको मुख्य उद्देश्य अपांगता भएका व्यक्तिहरूलाई उनीहरूको अधिकारबारे सचेत पार्दै, उनीहरूलाई राज्यको नीति निर्माण प्रक्रियामा समावेश गराउन प्रेरित गर्नु रहेको आयोजक संस्थाले जनाएको छ।

अपांगता भएका व्यक्तिहरूका लागि विशेष अवसरका रूपमा रहेको यो दिवसले उनीहरूको हक, सम्मान, र समाजमा स्थान सुनिश्चित गर्न थप पहल गर्न सरकार र सरोकारवालाहरूलाई प्रेरणा दिने विश्वास लिइएको छ।