इटहरी / इटहरी उपमहानगरपालिकाले ३७ औं विश्व एड्स दिवसको अवसरमा प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ ।
’एड्स अन्त्यका लागि सबैको अधिकार सुनिश्चित गरौँ’ नाराका साथ आइतबार ३७ औँ विश्व एड्स दिवसको अवसरमा इटहरी बजार परिक्रमा गरी कोणसभा समेत गरिएको थियो । इटहरी नगरपालिकाले एचआईभी संक्रमित परिवारलाई दैनिक उपभोग्य सामग्री वितरण गर्दै एड्स सम्बन्धी जनचेतना फैलाउने विशेष अभियान सञ्चालन गरेको छ ।
सामग्री वितरणमा चामल, दाल, तेल, नुन, साबुन, र अण्डा समावेश गरिएका थिए, जसले संक्रमित परिवारलाई राहत पुर्याएको छ । नगर प्रमुख हेमकर्ण पौडेल र अन्य स्थानीय प्रतिनिधिहरूको सक्रियतामा आयोजित यस कार्यक्रमले एड्स सम्बन्धी गलत धारणाहरू हटाउन र संक्रमित व्यक्तिहरू प्रति सकारात्मक दृष्टिकोण निर्माण गर्न योगदान पुर्याएको छ ।
एड्स लागेका व्यक्तिहरूलाई इटहरी उपमहानगरपालिकाले साथ र सहयोग गर्दै आउने इटहरी उपमहानगरपालिकाका उपप्रमुख संगिता कुमारी चौधरीले बताउनुभयो ।
स्वास्थ्य कार्यलय इटहरी सुनसरी , इटहरी अस्पताल , आम्दा नेपाल , रिकोभरिड नेपाल प्रवास महिला समूह, मानव कल्याण समाज, परिवार नियोजन संघ, आस्था फाउण्डेशन, महिला सहयोगी समुह, श्रमिक महिला साझा मञ्च, ईलाका प्रहरी कार्यालय इटहरी,नगर बाल सञ्जाल इटहरी ,सक्रिय महिला नेपाल , साहारा समाज, माईती नेपाल, जागरण आरोग्य समुहले सहयोग गरेको थियो । यसमा विभिन्न संघसंस्था, विद्यार्थी, र स्थानीय समुदायको सहभागिता थियो ।


