इटहरी । कोशी प्रदेशमा सवारी दुर्घटनामा वृद्धि भएपछि सुनसरी, मोरङ, र झापाका मुख्य राजमार्गहरूमा सवारी साधनको गति नियन्त्रण गर्न टाइम कार्ड प्रणाली लागू गरिएको छ। यो प्रणाली शनिबार मोरङको सुन्दरहरैँचास्थित गछिया चौकमा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डीआईजी चन्द्रकुवेर खापुङको उपस्थितिमा औपचारिक रूपमा सुरू गरिएको हो। टाइम कार्ड प्रणालीले पूर्व–पश्चिम राजमार्गको काँकडभिट्टादेखि कोशी ब्यारेज र कोशी राजमार्गको धरानदेखि विराटनगरसम्मका रुटमा चल्ने यात्रुवाहक सवारी साधनलाई तोकिएको समयभित्र यात्रा सम्पन्न गर्न बाध्य बनाउनेछ। तोकिएका समय सीमाअनुसार विराटनगर बसपार्कदेखि इटहरी बसपार्कसम्मको २४ किलोमिटर दूरीका लागि ४५ मिनेट, इटहरीदेखि धरानसम्मको २० किलोमिटर दूरीका लागि ३८ मिनेट, काँकडभिट्टादेखि बिर्तामोडसम्मको १७ किलोमिटर दूरीका लागि ३० मिनेट, र झापाको केर्खादेखि मोरङको बेलबारीसम्मको ३३ किलोमिटर दूरीका लागि १ घण्टाको समय निर्धारण गरिएको छ। प्रहरीका अनुसार यो प्रणालीले सवारी साधनको गति नियन्त्रण गरी सडकमा हुने अनुशासन कायम राख्नेछ। साथै, चालकहरूलाई तोकिएको समयसीमाभित्र सुरक्षित रूपमा यात्रा सम्पन्न गर्न प्रोत्साहित गर्ने उद्देश्यले यो कदम उठाइएको हो। पछिल्लो दुई सातामा मात्र कोशी प्रदेशमा सवारी दुर्घटनामा २५ जनाको मृत्यु भएपछि यो समस्या समाधानका लागि यस्तो नयाँ व्यवस्था लागू गरिएको हो। यस प्रणालीले यात्रुहरूको सुरक्षालाई प्राथमिकता दिँदै सवारी दुर्घटनामा कमी ल्याउन र सडक सुरक्षामा सुधार गर्न सहयोग गर्ने विश्वास लिइएको छ। कोशी प्रदेशका प्रहरीले यो व्यवस्थाबाट सवारी चालक र यात्रुहरू दुवैको जीवन रक्षा हुने अपेक्षा गरेको छ।


