इटहरी । लैङ्गिक हिंसा अन्त्यका लागि १६ दिने अन्तर्राष्ट्रिय अभियान अन्तर्गत इटहरीमा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ । हामी सबैको प्रतिबद्धताः लैङ्गिक हिंसा अन्त्यका लागि अभियान’ भन्ने राष्ट्रिय नाराका साथ सुरु गरिएको यो अभियानको पहिलो दिन प्रभातफेरी तथा जनचेतनामूलक कार्यक्रम गरिएको हो । इटहरी उपमहानगर परिसरबाट सुरु भएको प्रभातफेरी हटियालाईन, राधाकृष्ण मन्दिर, विपी चौक, आइतबारे हुँदै इटहरी मुख्य चौकसम्म पुगेर पुनः उपमहानगर परिसरमै टुंगिएको थियो । कार्यक्रममा सहभागीहरूले “सभ्य समाजको पहिचानः लैङ्गिक हिंसा विरुद्धको अभियान“, “बुझौँ–सुनौँ, आवाज उठाऔँ“ लगायतका नाराहरू प्रस्तुत गरेका थिए । प्रभातफेरीपछि लैङ्गिक हिंसा विरुद्धको प्रतिबद्धता पत्रमा हस्ताक्षर गरिएको थियो । कार्यक्रममा इलाका प्रहरी कार्यालय, महिला सञ्जाल, माया घर नेपाल, श्रमिक महिला साझा मञ्च, ज्येष्ठ नागरिक समन्वय समिति, मानव कल्याण समाज, माइती नेपाल लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण शाखाका प्रमुख सङ्गीता पोखरेलका अनुसार, १६ दिने अभियानको क्रममा प्रत्येक दिन विभिन्न कार्यक्रम मार्फत महिला तथा बालिकामाथि हुने विभेद र हिंसाका विषयमा जनचेतना फैलाइने छ । सरकारी तथा गैरसरकारी संस्थाहरूको सहकार्यमा अभियानलाई प्रभावकारी बनाउन थुप्रै क्रियाकलाप आयोजना गरिने उहाँले जानकारी दिनुभयो । यो अभियानले समाजमा लैङ्गिक हिंसाविरुद्धको चेतना जागृत गर्दै सुरक्षित र समतामूलक वातावरण निर्माणमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।