इटहरी । मोरङको पथरी शनिश्चरे वडा नं. ६, मुसहरघट्टास्थित ऋषिदेव बस्तीका बालबालिकालाई पथरी जेसीजले शैक्षिक सामग्री वितरण गर्दै बस्तीलाई “जेसीज गाउँ“ घोषणा गरेको छ । शनिबार आयोजित कार्यक्रममा पथरी जेसीजले आफ्नो वार्षिक “जेसीज सप्ताह“ को शुभारम्भ गर्दै अति विपन्न १५ घरपरिवारका ३५ जना बालबालिकालाई कापी, बलपेन, पेन्सिल लगायत शैक्षिक सामग्री प्रदान गरेको हो । कार्यक्रममा “जेसीज गाउँ“ राष्ट्रिय संयोजक सुमित्रा घिमिरे भट्टराई प्रमुख अतिथि रहनुभएको थियो । पथरी जेसीजका अध्यक्ष राजकुमार विश्वकर्माका अनुसार, बस्तीको शैक्षिक र सामाजिक विकासका लागि वडा कार्यालयसँग सहकार्य गर्दै आगामी सात वर्षसम्म विभिन्न कार्यक्रम सञ्चालन गरिने छ । यो योजनालाई सन् २०३० सम्म निरन्तरता दिइनेछ । कार्यक्रमका क्रममा वडाध्यक्ष कृष्णप्रसाद बस्नेत र पथरी जेसीजका अध्यक्ष विश्वकर्माबीच सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ । बस्तीको नजिकै रहेको मुसहरघट्टा पुलमा “जेसीज गाउँ“ लेखिएको बोर्ड अनावरण गरी बस्तीलाई औपचारिक रूपमा “जेसीज गाउँ“ घोषणा गरिएको छ । पथरी जेसीजकी महासचिव निर्मला भट्टराईका अनुसार, “जेसीज सप्ताह २०८१“ मंसिर १६ गतेसम्म सञ्चालन हुनेछ । कार्यक्रममा पथरी जेसीजका कार्यकारिणी उपाध्यक्ष नगेन्द्र बहादुर घिमिरेको संयोजकत्वमा विभिन्न गतिविधि सञ्चालन गरिने छ । यो पहलले अति विपन्न ऋषिदेव समुदायको शिक्षा र जीवनस्तरमा सुधार ल्याउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।


