सुनसरी — सुनसरी जिल्लाको वराहक्षेत्र नगरपालिका–१ स्थित वराहक्षेत्र मन्दिर परिसरमा प्रहरी चौकीको नवनिर्मित भवन समुद्घाटन गरिएको छ।

बुधवार कोशी प्रदेश प्रहरी प्रमुख चन्द्र कुवेर खापुङ र बराहक्षेत्र नगरपालिकाका उपप्रमुख नन्द कुमारी सुनुवारले संयुक्त रूपमा भवनको उद्घाटन गरे। कार्यक्रम प्रदेश प्रहरी प्रमुख खापुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

नेपाल सरकारको ३ करोड १९ लाख ४० हजार रुपैयाँको लागतमा अढाई तल्ले सुविधा सम्पन्न भवन निर्माण गरिएको हो। यस भवनमा कार्यालय, भान्साघर, र शौचालयजस्ता आवश्यक संरचनाहरू रहेका छन्।

उद्घाटन समारोहमा कोशी प्रदेश प्रहरी प्रमुख खापुङले निर्माण कार्यमा योगदान दिने सबैलाई धन्यवाद ज्ञापन गरे। उनले जनताले अपेक्षा गरेअनुसार शान्ति सुरक्षा र अपराध नियन्त्रणका क्षेत्रमा गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे। प्रहरी चौकीमा कार्यरत कर्मचारीहरूलाई नयाँ भवनको उचित प्रयोग, सरसफाइ, र संरक्षणमा ध्यान दिन निर्देशन पनि दिए।

स्थानीय अगुवा कुमार श्रेष्ठका अनुसार धार्मिक महत्त्वका कारण पर्यटक र व्यापारीहरूको चहलपहल रहने वराहक्षेत्रमा यो प्रहरी चौकीले सुरक्षा व्यवस्थालाई थप मजबुत बनाएको छ।

वराहक्षेत्र मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष भक्त बहादुर श्रेष्ठले प्राकृतिक जोखिम र भीडभाड व्यवस्थापनका दृष्टिकोणले भवनले ठूलो राहत दिएको बताए।

२०७२ सालमा स्थापना भएको प्रहरी चौकीले वराहक्षेत्र क्षेत्रमा सुरक्षा र सहायतामा निरन्तर काम गर्दै आएको छ। नवनिर्मित भवनले क्षेत्रको धार्मिक महत्त्व र पर्यटन विकासलाई अझै प्रोत्साहन गर्ने विश्वास गरिएको छ।