इटहरी / कोशी प्रदेशमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ‘टाइम कार्ड’ लागू गरिने भएको छ। सोमबार इटहरी उपमहानगरपालिकामा आयोजित बैठकमा यो निर्णय लिइएको हो। बैठकमा मेयर हेमकर्ण पौडेल, सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारी, प्रहरी प्रमुख एसपी सुमन तिम्सिना, ट्राफिक प्रहरी कोशी प्रदेशका एसपी विनोद घिमिरे र अन्य सरोकारवालाहरूको उपस्थिति थियो।
इटहरीका मेयर पौडेलले १५ दिनभित्र ‘टाइम कार्ड’ लागू गर्ने तयारी भएको र यसले सवारी साधनको गति नियन्त्रण गरेर दुर्घटनाको सम्भावना घटाउने विश्वास व्यक्त गरे। उनले अतिक्रमित सडक र पैदलयात्रुका लागि पेटी क्लियर गर्ने निर्णय पनि बैठकले गरेको बताए।
आइतबार इटहरी–१० मा भएको बस दुर्घटनाले स्थानीय प्रशासनलाई थप चनाखो बनाएको छ। काकडभिट्टाबाट विराटनगरतर्फ जाँदै गरेको बसले ठक्कर दिएर १७ वर्षीया सजना यादवको ज्यान लिएको घटनाले स्थानीय जनतामा आक्रोश फैलिएको थियो। बस जलाउने र प्रदर्शन गर्ने अवस्थासम्म पुगेका स्थानीयबासीले सवारी चालकको गम्भीर लापरबाहीलाई घटनाको कारण बताएका छन्।
सडकमा पैदलयात्रुहरूको सुरक्षाका लागि आवश्यक कदम चाल्नुपर्ने दबाबसहित स्थानीय नागरिक, पत्रकार र सरोकारवाला निकायहरूले समस्या समाधानका सुझाव दिएका थिए।
‘टाइम कार्ड’ प्रणालीले सवारी साधनहरूलाई तोकिएको दूरी तोकिएको समयभित्र मात्र पार गर्न बाध्य पार्छ। यो प्रणाली लागू भएपछि, सवारी साधनको अनियन्त्रित गति कम हुने र दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने विश्वास गरिएको छ ।
बैठकमा सहभागी सडक–पुल सहयोग इकाई कार्यालय कोशीका प्रमुख सूर्यनारायण चौधरीले सवारी चालकलाई लाइसेन्स वितरणसँगै ट्राफिक नियमको प्रशिक्षण (ओरियन्टेसन) दिनुपर्ने बताए। उनले गम्भीर लापरबाही गर्ने चालकलाई माफी दिन नहुने धारणा राखे।
स्थानीय पत्रकार सन्तोष यादवले सडक पेटी र डिभाइडरको अभावले दुर्घटनामा वृद्धि भएको उल्लेख गर्दै पैदलयात्रुहरूको सुरक्षा सुनिश्चित गर्न तुरुन्त कदम चाल्नुपर्ने बताए ।
‘टाइम कार्ड’ लागू भएपछि कोशी प्रदेशमा ट्राफिक व्यवस्थापन चुस्त दुरुस्त हुने र सवारी दुर्घटनामा कमी आउने विश्वास गरिएको छ। स्थानीय प्रशासनले सवारी चालकलाई नियमको पालना गर्न बाध्य पार्ने र दोषीमाथि कडा कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।


