इटहरी । पहिचान पक्षधरहरुले कोशी प्रदेशको नाम पहिचानको आधारमा राख्नुपर्ने माग सहित विराटनगरमा विरोध प्रदर्शन गरेका छन् । आइतबार विराटनगरमा प्रदेश नं. १ पुन नामाङ्कन संयुक्त संर्घष समितिको नेतृत्वमा विरोध प्रदर्शन भएको हो । विरोध प्रदर्शनलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुषालले संविधानमाथि विभिन्न नाममा आक्रमणको प्रयास भएकाले यसको रक्षा र थप उपलब्धिका लागि एकजुट हुनुको विकल्प नभएको बताउनुभयो । उहाले अहिले संविधान संशोधन गर्ने तयारी भईरहेकाले आन्दोलनबाट प्राप्त संविधानको उपलब्धिको रक्षा गर्नु पहिलो दायित्व भएको उल्लेख गर्नुभयो । निर्वाचन वा आन्दोलनबाट मात्र प्रदेशको नाम परिवर्तन गर्न सकिने भएकाले प्रदेश सभामा दुई तिहाई मत ल्याएर पहिचान सहितको नाम राख्न सकिने उहाको भनाइ छ । सो विरोध सभाअघि विराटनगरको बिजुली अफिस देखि महेन्द्र चोकसम्म प्रदर्शन गरिएको थियो । पहिचान पक्षधरहरुले यसअघि गरेको आन्दोलनका क्रममा झडप भएकाले नेपाल प्रहरी र सशस्त्र प्रहरीले कडा सुरक्षा दिएको थियो ।


